सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा बँदेलले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–१०, रुब्दीमा घरमै बसिरहेका उनीहरूलाई बँदेलले आक्रमण गरेको हो । आक्रमणबाट घाइते भएकी ६५ वर्षीया चुमा भुसाल र ३२ वर्षीय बोमबहादुर घर्तीलाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको स्थानीय चुरामणि भट्टराईले जानकारी दिए । अर्का एक जना ३८ वर्षिय कल्लु चौधरी भने सामान्य घाइते रहेकाले उनको अर्घाखाँची अस्पतालमै उपचार भइरहेको छ  ।

नजिकै रहेको जंगलबाट आएको बँदेलले घरमै बसेका उनीहरूलाई आक्रमण गरेको थियो । आक्रमणपछि प्रतिकारमा उत्रिएका उनीहरूले धारिलो हतियार प्रयोग गर्दा बँदेल मरेको जिल्ला बन कार्यालयका प्रमुख शिव शर्माले बताए ।

घाइते अवस्थामा रहेको भाले बँदेल पशु अस्पतालमा उपचारकै क्रममा  मरेको हो । मृत बँदेललाई जिल्ला वन कार्यालय परिसरमा गाडिएको छ ।

Comments