नेपालबाट अष्ट्रेलियामा आउँदा यहाँको वातावरणसंग भिज्न, अन्य मुलुकका मानिसहरुलाई उच्चारणको लागि सजिलो गराउन र कतिपयले फेशनको लागि नै पनि आफ्नो नाम परिवर्तन गर्ने गर्छन् । तर आफ्नै आमाबुवाको अधिकार हनन किन गर्नु ?

हामी जन्मिँदा नाम बिना जन्मेका हुन्छौं । त्यतिबेला हाम्रो परिचय केवल फलानाको छोरा या छोरी भनेर हुन्छ । त्यसपछि न्वारनमा हामीलाई नाम दिइन्छ । र त्यसपछि पनि आमा बुवाले निर्णय लिएर हामीलाई एउटा नाम दिन्छन् र लेखिदिन्छन् थर सहित । अनि बल्ल हाम्रो एउटा व्यक्तिगत परिचय जन्मिन्छ । तर त्यो परिचय हाम्रा आमा बुवासंग जोडिएको हुन्छ । हामीसंग उनीहरुले नै दिएको नाम हुन्छ र उनीहरुद्वारा नै जोडीएको थर हुन्छ । र, उनीहरुकै संस्कार हाम्रो अनुशासन बन्छ ।

हामी त्यही नाम र थर लिएर जिन्दगीका खुड्किलाहरुमा अगाडी बढ्न थाल्छौं । विस्तारै हामी आमा बुवाबाट स्वतन्त्र हुन थाल्छौं । आफ्ना जीवनका निर्णयहरु आफै लिन थाल्छौं । ‘फलानोको सन्तान ‘ भन्नेबाट अब हामी ‘ फलानो ‘ भनेर चिनिन थाल्छौं । त्यतिन्जेलसम्ममा हाम्रा आमा बुवाको प्रभाव या उपस्थिति हाम्रो जिन्दगीबाट छायाँमा पर्न थाल्छ । तर, हामी बाँचुन्जेल र मरिसकेपछि पनि हामीलाई आमा बुवासंग जोडिदिने पुल बनिरहेको हुन्छ हाम्रो नाम र थर ।

मेरो नाम खै कहाँबाट जुराउनुभयो बुवाले र राख्नुभयो ‘टोनु’ । स्कुलमा पढ्दा साथीहरुले निकै जिस्काए । त्यतिबेला बुवासंग ‘टोनु’ नाम राखिदिएकोमा मलाई रिस उठ्थ्यो। ८/ ९ कक्षा पढ्दा नाम फेर्ने अवसर पाइन्थ्यो । धेरै साथीहरुले त्यो अवसरलाई गुमाउन चाहेनन् । तर मलाई भने आफ्नो नाम प्रिय लाग्न थालिसकेछ क्यारे । र, म त्यतिबेला घोथाने थरलाई परिवर्तन गरेर गुरुङ पनि लेखाउन पाउँथे । धेरै गुरुङ साथीहरुले त्यतिबेला पनि आफ्नो थर नलेखेर गुरुङ नै लेख्थे, तर मैले घोथाने नै लेखाएँ अर्थात ‘टोनु घोथाने’ ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा निर्वाचित हुँदा मेरो बारेमा मिडियामा समाचार आउन थाले । त्यतिबेला मानिसहरुले मेरो नाम र थरलाई लिएर नेपाली हो कि होइन भनेर कमेन्ट समेत गरे । कतिपयले अष्ट्रेलिया आएर नाम फेरेको अनुमान गरे । त्यस्तै, गुरुङ समुदायका कतिपय साथीहरुले ‘घोथाने’ नलेखी गुरुङ मात्र लेख्न सुझाव समेत दिनुहुन्छ ।

मलाई नाम र थर दिने मेरा बुवा आमाबाट म अहिले स्वतन्त्र छु । मेरो जीवनका अहिलेका निर्णयहरुमाथि म उहाँहरुको अधिकार मान्दिन र उहाँहरुको निर्णय अनुसार चल्नुपर्ने दायित्वबोध पनि गर्दिन । जतिसुकै आदर्शवादी कुरा गरेतापनि सबैजसोको सत्य यही हो । तर उहाँहरुले दिएको ‘नाम र थर’ आफ्नो कागजपत्रमा लिएर हिंड्नु, त्यो नाम र थरलाई प्रेम गर्नुलाई म उहाँप्रतिको सम्मानको रुपमा लिन्छु । मेरो जीवनमा उहाँहरुको अधिकारको रुपमा लिन्छु । मेरो नाम र थरले म मेरो बुवाआमा मसंगै हुनुहुन्छ भन्ने महसुस गर्छु ।

कसैले मेरो नाम लिएर मुस्कुराउँदा मलाई मेरो नाम सुनेर बुवा आमा मुस्कुराउनुभयो भन्ने लाग्छ । मेरो नाम कतै नकारात्मक कुरामा मुछिंदा मलाई मेरा आमाबुवाप्रति मैले गरेको अपमान लाग्छ । त्यसैले सधै सजग रहन्छु कि कतै नफसोस् यो दुई अक्षर ‘टोनु घोथाने’, म बाँचुन्जेल र जिन्दगी सकिएपछि । किनकी यो दुई अक्षरसंगै मेरा आमाबुवा जोडिनुभएको छ ।

 

 

 

 

Please follow and like us:

Comments