मेलबर्न । अष्ट्रेलियाको ठगी प्रकरणका पिडितहरुलाई एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा कानुन व्यवसायी टोनु घोथानेले कानुनि सहयोग गर्ने भएका छन् । उनी पिडितहरुका तर्फबाट अदालतमा मुद्दा लड्ने भएका हुन् ।

 

मेलबर्नमा संचालित एभरेष्ट भ्यू ट्राभल्सका निर्देशक रामजी  पौडेलले मनि ट्रान्सफर, फर्जी टिकट बिक्रि र क्रेडिट कार्डबाट करिब ४ लाख ठगी गरेको आरोप छ । घोथानेका अनुसार, पिडितहरुमध्ये ४० जना सम्पर्कमा आएका छन् र उनीहरुबाट ४ लाख ४० हजार ठगी भएको पाइएको छ ।

 

यसअघि मेलबर्नको ठगी प्रकरणबारे पिडित र नेपाली समुदायका अगुवाहरु बीच छलफल चल्दै गर्दा न्युज २४ च्यानलबाट संचालित सिधा कुरा जनतासंग कार्यक्रममा पीडक एभरेष्ट भ्यू ट्राभल्सका निर्देशक रामजी पौडेलको नाम सार्वजनिक भएको थियो । पिडित र सामाजिक अगुवाहरु बीच भएका कुरालाई कार्यक्रममा अतिरन्जित तरिकाले प्रस्तुत गरिएको बताइएको छ ।

 

यसबारेमा घोथाने भन्छन् , ” सिधा कुरा जनतासंग भन्ने कार्यक्रममा हाम्रो भाइबर ग्रुपमा भएका कुराको स्क्रिनसट लिएर मैले गरेको कुराको थोरै अंश प्रस्तुत गरियो । त्यहाँ मैले पीडक पनि नेपाली भएकोले र हरेक व्यक्तिले आफ्नो गल्तीको महसुस गरि सुध्रिने समय पाउनुपर्छ भन्ने मेरो मान्यता भएकोले अहिले नै कानुनी प्रक्रियामा नजाऔं भनेको थिएँ । त्यो कुराको स्क्रिनसट कार्यक्रममा देखाइयो । त्यसपछि मैले यदि उसले नेपालको सम्पत्ति बेचेर पैसा दिन्छु भनेको छ भने, त्यो समय टार्नलाई मात्र भनेको हो या गल्तीको महशुस हो बुझौं । सम्पत्ति बेच्नको लागि निश्चित मात्र समय दिउँ । त्यसपछि यदि त्यो समय टार्नको लागि बाहना रहेछ भने कानुनी प्रक्रियामा जाऔं भनेको थिएँ । तर त्यसको स्क्रिनसट कार्यक्रममा देखाइएन । यसले गर्दा मेरो बारेमा भ्रम समेत सिर्जना भए । म सधै पिडितको पक्षमा थिएँ र अहिले पनि छु । नेपाली समुदायलाई सहयोग गर्नुलाई म आफ्नो कर्तव्य ठान्छु “।

 

उनी थप्छन् , ” पिडितहरुको अहिलेको मानसिक अवस्थालाई पनि हामीले बुझ्न सक्छौं । कानुनि प्रक्रिया लामो हुने हुँदा उनीहरुमा मानसिक तनाव अझ बढ्न सक्छ । त्यसको लागि हामीले मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन सम्बन्धि तालिमका लागि पूर्वतयारि गरेका छौं ” ।

 

कानुन व्यवसायी घोथानेका अनुसार, एभरेष्ट भ्यू ट्राभल्सका कर्मचारीहरुले उक्त कानुनी प्रक्रियामा सहयोग गरेमा उनीहरुलाई साक्षीको रुपमा उभ्याइनेछ । तर यदि कर्मचारीहरु सहयोग गर्न तयार नभएमा उनीहरु विरुद्ध पनि मुद्दा चलाइनेछ । त्यस्तै, उक्त कम्पनीका पूर्व निर्देशकहरु विरुद्ध समेत मुद्दा लगाइनेछ ।

 

यस प्रकरण तथा कानुनी प्रक्रियाको बारेमा भिक्टोरिया प्रहरीका उच्च अधिकारिहरुसंग समेत छलफल चलाइएको घोथानेले जानकारी दिएका छन् । यसका साथै पिडितहरुले अन्य वकिलहरुमार्फत मुद्दा दिएको अवस्थामा पनि समन्वय गरेर अगाडी बढ्ने उनले बताएका छन् ।

 

यस ठगी प्रकरणका अन्य पिडितहरुलाई पनि सम्पर्कमा आउन घोथानेले आग्रह गरेका छन् । पिडितहरुलाई आफ्नो न्यायको लागि लड्न र सबैलाई समुदायमा हुने यस्ता प्रकरणलाई निरुत्साहित गर्न उनले अनुरोध गरेका छन् ।

 

पिडितहरुले [email protected] मा इमेत गरेर आफ्ना कुरा राख्न सक्नेछन् ।

 

Please follow and like us:

Comments