काठमाडौं । अष्ट्रेलियावासी निरु त्रिपाठीद्वारा लिखित उपन्यास ‘ पेरिस्कानो ‘ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘पेरिस्कानो’ सार्वजनिक गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, अष्ट्रेलियाका लागि नेपालकी पूर्वराजदूत लक्की शेर्पा, चर्चित संगीतकार न्ह्यू बज्राचार्य, साहित्यकार विप्लव प्रतिक लगायत व्यक्तित्वहरुले एकैसाथ पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले कला साहित्यले पर्यटन प्रवर्द्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत टेवा पुऱ्याइरहेको बताएका थिए । यसका साथै उनले पुस्तकमा अष्ट्रेलिया र नेपालको परिवेशलाई समेटिएको हुँदा यसले अष्ट्रेलिया बजारमा नेपाली साहित्यको सम्भावनालाई बढाउन सक्ने धारणा समेत व्यक्त गरेका थिए ।
त्यस्तै, पूर्व राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा आफूले देखेका घटनाक्रम, विद्यार्थीहरुको स्थितिलाई पुस्तकमा समावेश गरिएकोले यसले नेपाली विद्यार्थी तथा अभिभावकलाई सचेत गराउने र सम्भावित सामाजिक दुर्घटनाहरुलाई कम गर्ने विश्वास व्यक्त गरिन् ।
‘पेरिस्कानो’का सम्पादक तथा साहित्यकार विप्लव प्रतीकले उपन्यासले प्रेम र जीवन दर्शनलाई बुझ्न सहयोग पुर्याउने बताउँदै लेखकले लेख्ने बेलामा ईर्ष्या, घमण्ड र लोभ त्याग्नुपर्ने बताएका थिए ।
लेखक निरु त्रिपाठीले पुस्तक तयार भएर आउँदासम्म सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिंदै आफ्नो लेखन अनुभव सबै समक्ष बांडेकी थिइन् ।
सङ्गीतकार न्ह्यू बज्राचार्य र बुक हिलका प्रकाशक भूपेन्द्र खडकाले पुस्तकले पाठकको ध्यान तान्न सफल हुने विश्वास व्यक्त गरेका थिए । पेरिस्कानोलाई बुक हिल प्रकाशनले बजारमा ल्याएको हो ।

Comments