काठमाडौँ । तामाङ समुदायको महान् चाड सोनाम ल्होसार शनिबार उत्सवका रूपमा मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

ल्होसार भनेको नयाँ वर्ष हो । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि सुँगुर वर्ष विदा भइ मुसा वर्ष शुरु हुने गर्छ । मञ्जुश्री पात्रो शुरु भएको २८५६औँ वर्ष पूरा भएको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको पुष्टि हुने अनुसन्धानकता तथा संस्कृतिविदहरु बताउँछन् ।

हिजोबाट नै ल्होछार शुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ । ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

 

Comments