अन्तराष्ट्रिय नेपाली कलाकार समाजको अष्ट्रेलिया शाखा गठन भएको छ ।  विश्वभरिका नेपाली कलाकार,साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको साझा संस्थाको रूपमा स्थापना गरिएको समाजको रामकृष्ण निरौलाको अध्यक्षतामा  अष्ट्रेलिया शाखा गठन भएको हो । यसमा अष्ट्रेलियामा रहेका कलाकार तथा साहित्यकारहरुको सक्रिय सहभागिता रहेको  समाजका केन्द्रिय सदस्य रामचन्द्र थापाले जानकारी दिए ।

इनास अस्ट्रेलिया कमिटीमा अध्यक्ष रामकृष्ण निरौला उपाध्यक्ष बिनोद दाहाल र पाल्देन लामा, महासचिब संजय अवाले , सचिब ईश्वर पोख्रेल , सह सचिब संगीता बुढाथोकी,कोषाध्यक्ष दिपिका घिसिङ लगायत कुल २७ सदस्यीय समिति गठन गरिएको छ । समितिको संरक्षकमा दिपक धमला ( साउथ अस्ट्रेलियाका लागि बाणिज्य दुत ), राम चन्द्र थापा ( केन्द्रीय सदस्य- अन्तराष्ट्रिय कलाकार समाजका केन्द्रिय सदस्य ) एबं डा. रुपक अर्याल रहनुभएको छ |

कलाकार र साहित्यकारहरुलाई जात, धर्म, वर्ण, लिङग र क्षेत्रको आधारमा हेरिने होइन, कलाकार र साहित्यकारहरुलाई उनीहरूको प्रतिभाको आधारमा सम्मान गरिनुपर्छ भन्ने उद्देश्य लिएर अगाडि बढेको यस विश्वब्यापि सञ्जालमा एकीकृत हुने अवसर पाएकोमा नव गठित इनास अष्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाले खुसी व्यक्त गरेका छन् । उनले अष्ट्रेलियामा नेपाली कला, साहित्य र संस्कृतिको जगेर्ना गर्न र कलाकार तथा साहित्यकर्मी सबैको उच्च कदर गर्दै अघि बढ्न आफूहरु सबै क्रियाशील रहने बताए ।

त्यस्तै सचिब ईश्वर पोख्रेलले पनि कलाकार तथा साहित्यकारहरुको हितको लागि केन्द्रीय समितिसँग समन्वय गर्दै अघि बढ्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।

विभिन्न महादेशमा महादेशस्तरीय नृत्य, गायन र साहित्यिक प्रतियोगिताहरु आयोजना गरेर प्रतिभाको पहिचान र सम्मान गर्दै आएको इनासले नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन र बजार बिस्तारमा समेत उल्लेख्य कामहरू गर्दै आएको छ । इनासले २०१५ मा तेस्रो इनास फिल्म अवार्ड आयोजना गर्न लागेको छ ।

Comments

comments