काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठनका विषयमा दलहरुबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचको बैठकले आयोगका पदाधिकारीको नाम टुंगो लगाएको हो । आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्वप्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । दलहरुबीच राजनीतिक सहमति जुटेकाले समितिले नाम सिफारिस गर्नेछ । सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्ने बताईएको छ । उहाँ कांग्रेसको सिफारिसमा आयोग अध्यक्ष हुन लाग्नुभएको हो । हिजोको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन । आजको बैठकमा यो विषयमा सहमति जुटेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, जितेन्द्र देव र नेकपाबाट खिमलाल देवकोटा सहभागी हुनुहुन्थ्यो । टिआरसीको ऐन संसोधनका विषयमा पनि दलहरुबीच सहमति भईसकेको छ ।

Comments