काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई छिट्टै छुटाइने बताउनुभएको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चौधरी भूमीगत रहेका भारतमा प्रधानमन्त्रीको हैसियतमै आफूले भेटेको जानकारी दिनुभयो । चौधरी पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको समेत उहाँले बताउनुभयो । उहाँले सभामुख, सरकार र पार्टीलाई भनेर रेशम चौधरीलाई सपथ गराई माननीयको दर्जा दिलाउन भूमिका खेलेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि सरकार र पार्टीसँग टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस गरिरहेको बताउनुभयो । चौधरीको मात्र नभइ अरुको पनि झुटा मुद्दा खारेज गर्नुपर्ने उहाँले बताउनुभयो ।

दाहालले सशस्त्र युद्धकालमा १७ हजार व्यक्ति मार्ने व्यक्ति भनेर निरन्तर आरोप लगाएको विषयमा आपत्ति जनाउनुभयो । उहाँले  १२ हजार राज्यले मारेको र ५ हजार तत्कालीन माओवादीले मारेको तथ्याङ्‌क पेस गर्दै एकोहोरो आरोपप्रति आपत्ति जनाउनुभएको हो ।

नेकपा अध्यक्ष दाहालले आफूले पहिचानको आन्दोलन नछाडेको दाबी समेत गर्नुभयो । पहिचान र अधिकारका निम्ति फेरि पनि बहस भइरहेको भन्दै उहाँले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

Comments