हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ ।

हरेक वर्षको पौष शुक्लपूर्णिमादेखि शुरु गरेर माघ शुक्ल पूर्णिमासम्मको अवधिमा श्रीस्वस्थानी माताको व्रत बस्ने गरिन्छ । पौष शुक्लपूर्णिमाका दिन नुहाइधुवाई गरी शरीर शुद्ध गरेर एकभक्ति भई श्रीस्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरिन्छ । व्रतालुले शुद्ध शाकाहार भोजन गरी साँझबिहान श्रीस्वस्थानीव्रत कथा वाचन श्रवण गरी शिव र सतीको पूजाआजा गर्छन् ।

राजधानीबाट उत्तरपूर्वको प्राचीन नगर शङ्करापुर नगरपालिकाको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ । राजधानी तथा विभिन्न जिल्लाबाट आउने तीर्थयात्री मणिशैल किनारमा स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

Comments