काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १६ उम्मेदवारको नाम टुङगो लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुङगो लगाएको हो । माघ ९ गते १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशका १३ उम्मेदवारको नाम टुंग्याएको हो । काँग्रेसले प्रदेश नं. १ बाट निरबहादुर विश्वकर्मा, मिना पुलामी मगर र राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, प्रदेश नं. २ बाट नगिना यादव, भोला पन्जियार , प्रदेश नं. ३ बाट हरिशरण श्रेष्ठ, छलीकुमारी शर्मा उपाध्याय र प्रदेश नं. ४ बाट सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको छ । उता प्रदेश नं. ५ बाट बालकृष्ण पाण्डे,गिरिजा न्यौपाने, मेराज हलवाई, प्रदेश ६ बाट डिल्लीराम पाठक र सावित्री पौडेल र प्रदेश नं. ७ बाट प्रताप ठगुन्ना , तुलसी देवकोटाको नाम टुङगो लागेको हो । कांग्रेसले बाँकी दुई सिटका लागि भने समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

उता समाजवादी पार्टीले राष्ट्रियसभामा प्रदेश–२ बाट रामप्रित पासवानलाई नै उम्मेद्वार बनाउने भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोटगर्न शनिबार बसेको समाजवादी पार्टीको बैठकले दुई वर्षे कार्यकाल सकिन लागेका राष्ट्रियसभा सदस्य रामप्रित पासवानलाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो । दलित समूहबाट उम्मेदवार बनाउन लागिएको पार्टीका महामन्त्री रामसहाय प्रसाद यादवले जानकारी दिनुभयो । काँग्रेससँगको गठबन्धनपछि दुई सिट पाएको समाजवादीले दोस्रो उम्मेद्वार छनोट गर्ने जिम्मा भने अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

यता राष्ट्रिय जनता पार्टीले पनि राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँगको भागबण्डा बमोजिम दुई सिट पाएको राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । आज बसेको राजपा अध्यक्षमण्डल बैठकले वरिष्ठ उपाध्यक्ष यादवलाई अन्य समूहबाट र शेखरकुमारलाई अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाएको हो । प्रदेश २ मा रिक्त रहेको चार सिटका लागि यसअघि नै राजपा र नेकपाले गठबन्धन गरेका थिए । सहमति अनुरुप राजपाले २ तथा नेकपाले २ सिट बाडफाँड गरेका छन् । माघ ९ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि भोलि बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

Comments