काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० औपचारिक शुभारम्भ गर्नुभएको हो ।

विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सहित शुरु गरिएको समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघरसंस्था, कलाकारहरुको उपस्थिति रहेको छ ।

समारोहमा चीनका पर्यटनमन्त्री वाङ साओफेङ, भारतका प्रह्लाद सिंह पटेल, मेन्मारको यू ओन माउंग र जमैकाका एडमन्ड ब्राटलटको समेत उपस्थिति रहेको थियो ।
राष्ट्रिय अभियानका रूपमा सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रपति विद्यादेवी भण्डारीले दीप प्रज्ज्वलन गरेर औपचारिक उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले अमूल्य स्रोत र सम्भाव्यताको मनन् मात्र होइन, उजागर गर्नुपर्नेमा जोड दिनुभयो । भ्रमण बर्षको राष्ट्रिय अभियानलाई सफल पार्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले विश्वमाझ नेपालको उत्कृष्ट छवि स्थापित हुने समेत बताउनुभयो ।

यसैबीच संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमणमा आउन पर्यटकहरुलाई अपील गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल विश्वकै मौलिक संस्कृतिको केन्द्र रहेको जिकिर गर्नुभयो । उहाँले विविधतापूर्ण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अद्भुत अनुभुति सँगालेर जान विश्वका पर्यटकहरुलाई अपील गर्नुभयो । नेपाल संसारमै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको र अथिति सत्कार विश्वमै उत्कृष्ट भएको उहाँको भनाइ थियो । नेपाल प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रहरूको आधारमा सबै पर्यटकहरुका लागि नेपाल जानैपर्ने गन्तव्य रहेकोमा जोड दिनुभयो । पर्यटकहरूको लागि नेपाल आफैंमा एउटा पूर्ण प्याकेज भएको मन्त्री भट्टराईले बताउनुभयो ।

काठमाडौं सहित सातै प्रदेश सरकारहरुले समेत आजै भिजिट नेपाल २०२० को शुभारम्भ गरेका छन् ।

Comments