मलेसियाको क्वालालामपुरमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत आज भएको नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपाल र अमेरिकाबीच फेरि भोलि सुरुबाट खेल हुनेछ । अमेरिकाले नेपालसामू २ सय ५ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपालले जवाफी व्याटिङ गर्न नपाउँदै पानी परेको थियो । पानी रोकिएपछि खेल ३० ओभरमा छोट्याइएपछि नेपालले १ सय ६२ रनको नयाँ लक्ष्य पाएको थियो ।  जवाफी व्याटिङ सुरुवात गरेको नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै २७ रन बनाउँदा फेरि पानी परेपछि खेल रद्द भएको घोषणा गरिएको थियो । यसअघि किन्नरा ओभलमा टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७ दशम्लव ३ ओभरमा २ सय ४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा एक मेडन राख्दै ३७ रन दिएर तीन विकेट लिनु भएको थियो भने शक्ति गौचन, सागर पुन र बसन्त रेग्मीले समान २÷२ विकेट लिनु भएको थियो ।

Comments

comments