सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आइतबार बिहान बसेको सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र प्रदेश राजधानी मकवानपुरको हेटौंडालाई बनाउने निर्णय गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको हो ।

प्रदेश नम्बर ३ को नाम र राजधानीबारे लामोसमयदेखि नेकपाकै साँसदहरूबीच कुरा नमिल्दा निर्णय हुन ढिलाई भइरहेको थियो । प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भएपनि प्रदेशको नाम बाग्मती, नेपाल मण्डल र नेवा ताम्सालिङमध्ये कुन राख्ने भन्नेमा पार्टी भित्रै कुरा मिल्न सकिरहेको थिएन । नेकपा सांसदहरु यहाँको राजधानी हेटौंडा, काभ्रे वा भक्तपुरमध्ये कहाँ राख्ने भन्नेमा विभाजित थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा निर्वाचनअघि प्रदेशको केन्द्र तोकेको थियो। त्यसबेला प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकिएको थियो। प्रदेश राजधानी एकछेउमा भएको र अरू जिल्लालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सार्ने चर्चा चले पनि नेकपाले हेटौंडा नै उपर्युक्त हुने निष्कर्ष निकालेको हो।

Comments