एजेन्सी । अफ्रिकी देश सोमालियाको राजधानी मोगादिसुमा भएको बम बिस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा ७६ पुगेको छ । राजधानी मोगादिसुको व्यस्त चेकप्वाइन्टमा शनिबार बिहान व्यस्त समयमा बिस्फोट भएको हो ।

कार बम बिस्फोट हुँदा ९० जना भन्दा बढी घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन् । तर अल–कायदा सम्बद्ध अल–शबाब विद्रोही समूहले सोमालियामा यस्ता आक्रमण गर्ने गरेको थियो ।

राष्ट्रपति मोहम्मद अब्दुल्लाही फार्माजोले आक्रमण सोमाली जनतालाई अपमानित गर्ने खराब नियतका साथ भएको तर विद्रोहीहरुले कहिले पनि देश पुनर्निमाणको अभियानलाई रोक्न नसक्ने बताएका छन् ।

सोमालियामा १० वर्षभन्दा बढी समयदेखि अल–शाबाबले विद्रोही गतिविधि गर्दै आएको छ । सन् २०११ मा उसलाई राजधानीबाट लखेटिएको थियो, तर अझै पनि सोमालियाका केही क्षेत्रमा अल–शबाबको कब्जा छ ।

Comments