मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायको टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेप्लिज एसोसिएसन अफ भिक्टोरियासंगको सहकार्यमा एनआरएनए युथ फोरम भिक्टोरियाले प्रतियोगिताको आयोजना गरेको हो ।
टेबल टेनिस प्रतियोगिता पुरुष, महिला र १६ वर्ष मुनि उमेर समूहमा भएको थियो । जसमा पुरुषतर्फ निरेस कार्की, महिलातर्फ अनिसा सापकोटा र १६ वर्ष मुनि उमेर समूहमा विविध काफ्ले विजेता बनेका छन् ।
पुरुष समूहमा निरेस कार्की र निरज पन्त फाइनलमा भिडेका थिए । त्यस्तै, फाइनलमा महिला तर्फ अनिसा सापकोटा र प्रकृति भट्ट भिडेका थिए भने १६ वर्ष मुनि उमेर समूहमा विविध काफ्ले र प्रभात भट्ट प्रतिस्पर्धीको रुपमा रहेका थिए ।
प्रतियोगितामा विजेता बनेका निरेस कार्की र अनिसा सापकोटाले पुरस्कार स्वरुप जनही ५ सय डलर नगद पुरस्कार प्राप्त गरेका छन् । १६ वर्ष मुनि उमेर समूहका विजेता विविध काफ्लेले २ सय डलर नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता बनेका निरज र प्रकृतिले ३ सय डलर नगद पुरस्कार प्राप्त गरेका छन् भने १६ वर्ष मुनि उमेर समूहका उविजेता प्रभात भट्टले १ सय डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।
भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन,  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल, भिक्टोरियाका संयोजक प्रेम कंडेल, न्याभका अध्यक्ष तारा गैरे, एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष टोनु घोथाने लगायत व्यक्तित्वहरुको सहभागितामा विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो।
औपचारिक कार्यक्रममा बोल्दै एनआरएन भिक्टोरियाका युवा संयोजक बबिन मिश्रले प्रतियोगिता व्यवस्थित र सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो । उहाँले प्रतियोगिताको सफलताले आगामी दिनमा अझ बृहत कार्यक्रम गर्नको लागि हौसला मिलेको समेत बताउनुभयो ।

Comments