काठमाडौं । नापी विभागले लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा तयार पार्ने प्रक्रिया शुरु गरेको छ ।

सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिनुभयो । संघीय संसदको राज्य व्यवस्था समिति र अन्तराष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको थियो ।

सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी उल्लेख छ । सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको भएको उल्लेख छ । सम्पूर्ण भूभाग समेटेर नक्सा सार्वजनिक गर्न दिएको निर्देशन पालना नभएको भनेर आलोचना भइरहेका बेला विभागले सरकारको निर्देशनमा नयाँ नक्सा बनाउन लागेको हो ।

विज्ञहरुले पनि भारतले नयाँ नक्सा जारी गरेर सीमा बहसलाई तताएका बेला नेपालले पनि आफ्ना भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सक्नुपर्ने बताएका छन् । नयाँ नक्सा निर्माण लागि अहिले अनुकुल वातावरण तयार भएको परराष्ट्रविद हिरण्यलाल श्रेष्ठको भनाइ छ ।

Comments