काठमाडौं । काठमाडौंमा जारी १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले बलियो टोली माल्दिभ्सलाई २–१ गोलले पराजित गरेको हो ।

दोस्रो हाफमा रक्षात्मक देखिएको नेपाल र माल्दिभ्सले पनि गोल गर्न नसक्दा २-१ कै नतिजामा टुङ्‍गिएको हो।

जितसँगै तीन खेलबाट नेपालले फाइनल प्रवेशको सम्भावना उच्च बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्‍गशालामा सम्पन्‍न खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र अभिषेक रिजालले एक/एक गाेल गरे।

माल्दिभ्सविरूद्ध  १-० ले पछि परेको  नेपालले पहिलाे हाफकाे अन्तिम समयमा बराबरी गाेल फर्काएकाे थियाे। नेपालका अभिषेकले ४२औं  मिनेटमा गाेल गर्दै १-१ काे बराबरी बनाएका हुन्।

अनन्तले ५१औं मिनेटमा गाेल गर्दै नेपाललाई २-१ काे अग्रता दिलाएका थिए। उनले सुनिल बलले प्रहार गरेकाे कर्नर  किकलाई हेडमार्फत आकर्षक गाेल गरेका थिए।

यसअघि १८औं मिनेटमा माल्दिभ्सका इब्राहिम माहुदी हुसेनले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए। उनले हुसेन सिफाउ युसुफको कर्नरमार्फत गोल गरेका हुन्।

सुरुआतदेखि नै प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमै माल्दिभ्सले कर्नर पाएको थियो। त्यसपछि माल्दिभ्सको हाफमा हाबी बनेको नेपालका कप्तान सुजल श्रेष्ठले छैठौं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केको थियो।

त्यस्तै २०औं मिनेटमा रेजिन सुब्बाले हेडरमार्फत गरेको प्रहार पनि गोलपोस्टमा लागेर बाहिरिएको थियो।

पहिलो खेलमा भुटानलाई ४-० को नतिजामा पराजित गरेको नेपाल दोस्रो खेलमा श्रीलंकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

राउन्ड रोबिन पद्धतीमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले स्वर्णपदकका लागि फाइनल खेल्नेछन्।

साविक विजेतासमेत रहेको नेपालले समूहचरणको अन्तिम खेलमा बंगलादेशसँग आइतबार खेल्ने छ।

Comments