काठमाडौं । वैदेशिक रोजगार विभागले मलेशिया जाने कामदारले कुनै शुल्क तिर्न नपर्ने प्रष्ट पारेको छ ।

दुई देशबीच भएको नयाँ श्रम समझदारी अनुसार नेपाली कामदारले रोजगारीका लागि निशुल्क मलेशसिया जान पाउने विभागको भनाइ छ । कामदारबाट कुनै शुल्क माग गरिए जानकारी गराउन विभागले अपील गरेको छ । दुई देशबीच भएको नयाँ श्रम समझदारी अनुसार झन्डै ३१ हजार नेपाली कामदार मलेशिया पठाउने प्रक्रिया सुरु भइसकेको छ । हवाई टिकट, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच र प्रवेशाज्ञा शुल्क लगायतका सबै खर्च मलेसियास्थित रोजगारदाताले नै बेहोर्ने समझदारी भएकाले कामदारले कुनै पनि शुल्क तिर्नु नपर्ने विभागले प्रष्ट पारेको छ । नेपाली कामदार मलेशिया पठाउनका लागि कामदारबाट ठूलो रकम उठाइएको गुनासोपछि सरकारले त्यहाँ कामदार पठाउन रोक लगाएको थियो । लामो छलफलपछि दुई देशबीच सबै खर्च कम्पनीले नै बेहोर्ने समझदारी भएको हो । विभागले हालसम्म ६ हजार पाँच सयभन्दा बढीलाई श्रम स्वीकृति दिइसकेको जनाएको छ ।

नेपालका विभिन्न वैदेशिक रोजगार कम्पनीले मागपत्र अनुरूप कामदार पठाउने प्रक्रिया सुरु गर्न लागेका बेला विभागले कुनै शुल्क मागे जानकारी गराउन आग्रह गरेको हो । सम्झौता विपरीतका शुल्क माग गर्ने व्यक्ति वा संस्थालाई कारबाही हुने विभागले जनाएको छ ।

समझदारीमा भएका व्यवस्थाबारे ४ सय ३२ वटा वैदेशिक रोजगार कम्पनीलाई प्रशिक्षण दिनुका साथै सचेत समेत गराइएको विभागको भनाइ छ । तर छनौट प्रक्रियामा असफल हुने कामदारले उक्त प्रक्रियामा लागेको खर्च भने आफैँले बेहोर्नुपर्ने विभागले जनाएको छ ।

Comments