काठमाडौं । संघीय कानून नबन्दा प्रदेशमा विभिन्न समस्या देखा परेको सातै प्रदेशका सभामुखहरुले गुनासो गरेका छन् ।

प्रदेश सभा सचिवालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा संघीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनुपर्नेमा प्रदेशका सभामुखहरुले जोड दिएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संघीयता नेपालका लागि नयाँ प्रयोग भएको भन्दै अभ्यासबाट धेरै सिक्दै अघि बढिएको बताउनुभयो । नयाँ संरचना अनुसार संविधानको कार्यान्वयन गर्दै परम्परागत मूल्य–मान्यताबाट अघि बढ्नु अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालले संघीयताको कार्यान्वयनमा देखिएका जटिलता समाधान गरी अघि बढ्नुपर्ने बताउँदै तीनवटै तहको समन्वयबाट मात्रै यसको प्रभावकारिता कायम हुने बताउनुभयो । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधान अनुसार संघीय कानून नबन्दा समस्या आउने गरेको बताउनुभयो ।

Comments