काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद रहुञ्जेल पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्षद्वय ओली र दाहालको वरियताक्रम भने यथावत हुनेछ । सहमतिपछि अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष दाहाल कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने प्रवक्ता श्रेष्ठ बताउनुभयो । बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने तर बैठक सञ्चालन भने अध्यक्ष दाहालले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

संसद्को यो कार्यकालमा सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने निर्णय भएको बताउनुभयो । यद्यपि पार्टी र सरकार दुई अध्यक्षबीचको सहमतिमै सञ्चालन हुने जानकारी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Comments