काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद पुनर्गठन गर्नुहुने भएको छ ।

मंगलबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद दिँदै बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिनुभएको हो ।

बैठकमा प्रधानमन्त्रीले सबैमन्त्रीलाई धन्यवाद दिएको जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद बैठकमा निक्कै भाबुक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले लामो समयको तयारीपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने मनस्थितिमा पुग्नुभएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको कारण देखाउँदै सरकारलाई थप चलायमान बनाउन नयाँ निर्णय लिने मनस्थितिमा पुग्नुभएको हो ।

मन्त्रिपरिषदका सबै सदस्यलाई नहटाई केहि मन्त्रीलाई मात्र जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रधानमन्त्री रहनुभएको छ । स्रोतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा तथा राज्यमन्त्रीहरु धनबहादुर बुढा र रामकुमारी चौधरीलाई हटाउने तयारी गर्नुभएको छ ।

सरकारका कामकारबाहीका विषयमा लामो समयदेखि आलोचना भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गनुभएको हो ।

Comments