सिड्नी । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढिरहेको छ । बहुसांस्कृतिक देश अष्ट्रेलियाले यहाँ वसोवास गरिरहेका सम्पूर्ण समुदायलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तथा योजनाहरु अगाडी बढाउँदै आएको छ । यस्ता कार्यक्रम अन्तर्गत अष्ट्रेलियाका स्कुलमा हिन्दि लगायतका अन्य विषय पढाइदै आएकोमा अब नेपाली भाषा पनि पढाइने भएको छ ।
नेपालीहरुको संख्या अत्यधिक रहेका राज्य न्यु साउथ वेल्स र दक्षिण अष्ट्रेलियामा नेपाली विषयको पढाइ सुरु भएको हो । हाल न्यु साउथ वेल्सका दुई र दक्षिण अष्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा राखिएको छ । नेपाली विषय नेपाली मुलका विद्यार्थीले मात्र नभई फिलिपिन्स लगायतका देशका विद्यार्थीले समेत पढिरहेका छन् ।
न्यु साउथ वेल्स राज्यको सिड्नीस्थित कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल तथा दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयको पाठ्यक्रममा नेपाली भाषा समावेश गरिएको छ । त्यसको लागि स्थायी रुपमा नेपाली मुलका शिक्षक नियुक्त गरिएको छ ।

Comments