काठमाडौं । नेपाली कांग्रेसका निलम्वित सांसद मोहम्मद अफताब आलमलाई जन्मकैद माग गर्दै सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्दा दर्र्ता गरेको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो । आलमसहित १० जनालाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दर्ता गरीएको रौतहटका प्रमुख जिल्ला सरकारी वकिल खडिन्द्र कटुवालले जानकारी दिनुभयो । दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान,अहम्मदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी विष्फोट गराएको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ । आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनुपर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ । त्यतिबेला मुलुकी ऐन लागू हुन्थ्यो उक्त ऐनमा मान्छेको मारेको अभियोग पुष्टि भए सबैभन्दा धेरै सजाय सर्वस्व जन्मकैद हुने व्यवस्था थियो ।

त्यस्तै २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताअनुसार यातना दिएर मारेकोमा आलमलाई आजन्म कैद हुनुपर्ने माग पनि प्रतिवेदनमा गरिएको रौतहट प्रहरीका प्रवक्ता तथा डिएसपी नविन कार्किले बताउनुभयो ।

Comments