मेलबर्न । अष्ट्रेलियाका लागि नवनियुक्त नेपालका राजदूत महेशराज दाहाल नोभेम्वर ६ तारेखमा अष्ट्रेलिया आउनुहुने भएको छ ।

नवनियुक्त राजदूत दाहालले नोभेम्बर १३ मा यहाँका गभर्नरसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम छ। दाहाललाई फिजी र न्युजिल्याण्डको समेत कार्यक्षेत्र जिम्मेवारी तोकिएको छ।

तत्कालीन राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएपछि लामो समयदेखि अष्ट्रेलिया राजदूत रिक्त थियो। रिक्त पदमा दाहाललाई मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्नुभएको हो ।

नेपाल टेलिभिजनका पूर्वकार्यकारी अध्यक्ष, रोटरी इन्टरनेशनल, जेसिस, लायन्स क्लबलगायतका संघसंस्थाको अनुभवप्राप्त दाहालसँग अष्ट्रेलियामा कार्यरत नेपालीसम्बद्ध करिब ११२ वटा संघसंस्थाबीच समन्वय गर्दै नेपाली नागरिकको हकहितमा जुट्नुपर्ने तथा डेढ वर्षभित्र आफ्नै दूतावास भवन निर्माण गर्नुपर्ने जस्ता चुनौति छन्।

Comments