काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा थुनछेक बहस आइतबार सुरु भएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलासमा महराको बयान सकिएपछि आइतबारबाट थुनछेकको बहस सुरु भएको हो।

आइतबार बहस नसकिएपछि महराको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। बहस सोमबार पनि जारी रहनेछ।

महरामाथि यौन दुराचारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दिनुभएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महरामाथि परेको मुद्दाको सुनुवाइ भइरहेको छ।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधीवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरु लव मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाई लगायतले बहस गर्नुहुनेछ ।

सरकारी वकिलको तर्फबाट आइतबार बहस सकिएपछि महराको तर्फबाट वरिष्ठ अधिवक्ता भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गर्नुभएको छ । अन्य अधिवक्ताको बहस सोमबार हुने छ।

सोमबार थुनछेक बहस सकिएमा थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश जिल्ला अदालतले गर्ने छ।

महरालाई असोज १९ गते आइतबार साँझ ६ बजे सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो।

Comments