एजेन्सी । ट्रम्प सरकारको एउटा प्रमुख राष्ट्रिय सुरक्षा प्राथमिकता थियो ‘इस्लामिक स्टेट’ को वर्वादी।

र, शनिबार ट्रम्प सरकारले एउटा ठूलो ‘उपलब्धी’ पायो, त्यो थियो ‘अबु–बकर, अल बगदादी’को मृत्यु।

बगदागीको यो मृत्युलाई राष्ट्रपति ट्रम्पले ‘कुकुरको जस्तो मृत्यु’ मरेको भनेका छन्।

संयोग पनि कस्तो भयो भने, अन्तिम अवस्थामा बगदादीलाई सुरुङभित्र अमेरिकी सेनाको एउटा तालिमप्राप्त कुकुरले लेखेटीरहेको थियो।

को थिए बगदादी?

एक निम्न वर्गीय सुन्नी मुस्लिम समुदायमा बग्दादीको जन्म भएको थियो। १९७१मा इराकको सामरा भन्ने ठाउँमा उनी जन्मिए।

उनको खास नाम इब्राहिम अल–उद अल वदरी थियो। तर, उनी अल–बगदादीको नामले संसारभर चिनिए।

‘पेगम्बर मोहम्मद’लाई आफ्नो बंशज मान्ने उनको यो परिवार निकै धार्मिक कट्टर थियो। किशोरावस्थामै उनले कुरान कण्ठ पारिसकेका थिए। इस्लामिक कानुन पनि उनले अध्ययन गरिसकेका थिए।

आफूमात्रै होइन, आफ्नो परिवार र आफन्तहरूसमेत इस्लामिक कानुन अनुसार चालचलनमा छन् कि छैनन् भनेर बगदादी कडा नजर राख्थे। उनले मजहब अध्ययन गरेका थिए। १९९६मा युनिभर्सिटी अफ बगदादबाट उनले इस्लामिक स्टडिजमा ग्राजुएशन गरे।

त्यसपछि उनले इस्लामिक स्टडिजमै पिएचडीसमेत गरे।

२००४सम्म उनी बगदादमै थिए, आफ्ना दुई पत्नी र ६ जना छोराछोरीका साथ। त्यो समय उनले त्यहीँको स्थानीय मदरासामा कुरान पढाउँथे। उनी एक राम्रा फूटबल खेलाडीसमेत हुन्।

त्यही बीचमा उनका काकाले मुस्लिम ब्रदरहुडमा सामेल गराए।

बगदादीको हिंस्रक र रुढीवादी इस्लामिक बाटो त्यहीँबाट सुरुवात भयो।

२००३ मा अमेरिकाले इराकमा आक्रमण गरेको केही महिनापछि उनी अह्ल अल सुन्नाह र अल जमाह जस्ता विद्रोही गुटहरूको निर्माणमा लागेका थिए।

२००४ मा उनलाई अमेरिकी सेनाले गिरफ्तार गर्‍यो। उनी दश महिनासम्म अमेरिकी सेनाको नियन्त्रणमा रहे। कैदकै बेला पनि उनले कैदीहरूलाई इस्लामिक शिक्षा पढाउँथे।

उनी आफैंमा एक अन्र्तमुखी स्वभावका थिए। तर, आफ्ना प्रतिद्वन्द्वीहरूको बारेमा उनले भित्री खबरहरू पनि बटुलिरहेका हुन्थे।

२००४को डिसेम्बरमा उनी रिहा भए। लगत्तै उनी इराकमा अल कायदाका प्रवक्ताको सम्पर्कमा पुगे।

इस्लामका कट्टर पूजारी थिए बगदादी। त्यसैले अलग अलग भएका इस्लामिक स्टेटका गुटहरूलाई उनले एकै ठाउँमा मिलाउन प्रयत्न गरे। उनले मानिसहरूलाई एकजुट गराउन सुरु गरे।

उनी आइएसआईको सुरा काउन्सिलका ११ सदस्यमध्ये एक थिए। २०१०मा आइएसका संस्थापक मारिएपछि काउन्सिलले उनलाई आइएसका प्रमुख घोषणा गर्‍यो।

उनी पाँच वर्षदेखि भूमिगत थिए। गत अप्रिलमा इस्लामिक स्टेटको समाचार संस्था अल फुरकानले एउटा भिडियो प्रशारण गरेको थियो, जसमा बगदादी जिउँदै रहेको बताइएको थियो।

जुलाई २०१४मा एउटा मस्जिदमा भाषण गर्नका लागि उनी पहिलोपटक देखिएका थिए। २०१८मा अमेरिकाको एउटा आक्रमणका क्रममा उनी घाइते भएको बताइएको थियो। २०१०मा उनी इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आईएसआईएस) का नेता बनेका थिए।

एउटा भयानक ‘डर’को मृत्यु

शनिबार रातको एउटा प्रहर बगदागी जिन्दगीको अन्तिम पीडा थियो सायद।

उनी लुकेर बसेको क्षेत्रलाई अमेरिकी सेनाले पूरै घेरा हालिसकेको थियो। आकाशमा लडाकु हेलिकोप्टरका आवाजले बगदागीको मनमा डरका तरंगहरू निकै तरंगित भइरहेका थिए।

उनको मृत्युको पुष्टी गर्दै आइतबार बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए ‘उनी एक अपराधी थिए। जसको नाम सुन्दै दुनिया डराउँथ्यो। तर, जिन्दगीको अन्तिम पलमा उनी आफैं डराइरहेका थिए। अमेरिकी सेनाले उनलाई पछ्याइरह्यो र, मृत्युको मुखमा पुर्‍यायो।

बगदादीसँगै उनका तीनजना छोराछोरी पनि थिए। बगदागीले बम फिट गरिएको एउटा ज्याकेट लगाएका थिए। अन्तिम अवस्थामा उनले ‘आत्मघाती विष्फोट’गराए। उनको शरीर टुक्रा टुक्रा भएको थियो। डिएनए टेस्टपछि अमेरिकी सरकारले उनी मारिएको पुष्टी गरेको हो।

जब अमेरिकी सेनाले उनलाई पूरै घेरिसकेको थियो, त्यो बेला उनी एउटा सुरुङभित्रै थिए। र, उनलाई अमेरिकी सेनाको एउटा ‘खुङ्खार’ कुकुरले लेखेटीरहेको थियो।

भाग्दाभाग्दै सुरुङ सकियो। अन्तिममा जाने ठाउँ कतै थिएन। कुकुरले उनलाई झम्टिसकेको थियो तर, उनले बमले भरिएको ज्याकेट विष्फोट गराए र आफूसँगै आफ्ना तीनजना छोरछोरी पनि बमसँगै उडाए। कुकुरको शिकार बन्नुभन्दा सायद आफैंलाई बलमे उडाउनु ठीक ठाने उनले।

बम विष्फोटपछि सुरुङ भत्किएको थियो। उनका तिन बच्चाहरूलाई सुरुङ भत्किएर च्यापिएका थिए। शरीर क्षत विक्षत थियो।

अमेरिकी सरकारको यो एउटा विशेष मिसनपछि टेलिभीजनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भनेका छन् ‘विश्वकै नम्बर एक आतंकारी संगठनका नेता मारिएका छन्। खतरनाक र साहसपूर्ण एउटा अपरेशनमा अमेरिकी सेनाले उनलाई मारिदियो।’

अमेरिकी समयअनुसार शनिबार साँझ ५ बजेतिर अमेरिकी सेनाका हेलिकोप्टरहरूले उत्तरी सिरियाको एउटा क्षेत्रमा सेनाको बिशेष टोलि उतारिरहेको थियो। जहाँ बगदागी लुकेर बसेको सेनाले एकीन गरिसकेको थियो।

त्यो बेला ट्रम्प आफ्ना सहयोगीहरूसँग ह्वाइट हाउसमा बसेर ‘लाईभ’ हेरिरहेका थिए।

करिब एक घण्टा दश मिनेट हवाई निरीक्षणपछि सैनिकले स्थल अपरेशन सुरु गरेका थिए।

र, त्यो करिब २ घण्टासम्म चल्यो। अमेरिकी सेनाको विशेष टोलीले गरेको यो अभियानलाई ‘मिसन अब्सटलरेशन’ नाम दिइएको थियो।

टर्कीको सिमाना नजिकै सिरियाको एउटा सानो क्षेत्रमा अमेरिकी सेनाले बगदागीलाई फेला पारिसकेको थियो।

बगदागीको यो मृत्युलाई विश्व आतंकवादको एउटा ठूलो ‘हिम्मत’को अन्त्य भएको मानिएको छ।

यो घटनापछि विश्वमै आतंकवादीहरूको केही न केही कमजोर पक्कै हुनेछन्।

ट्रम्पको लागि यो एउटा सौभाग्य पनि किन हुनसक्छ भने अहिले उनी चारैतिर आलोचित भइरहेका छन्।

उत्तरी सिरियाबाट आफ्ना सैनिक फिर्ता गरेपछि उनको निकै आलोचना भएको थियो। लगत्तै टर्कीले सिरियाली कुर्दहरूमाथि आक्रमण थालिसकेको थियो।

विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा तयार पारिएको।

Please follow and like us:

Comments