काठमाडौं । नेपाल लोडसेडिङमुक्त भएको चार वर्ष पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले जिम्मेवारी सम्हालेदेखि नेपाल लोडसेडिङमुक्त भएको हो । यसपटक पनि तिहारमा ढुक्क भएर झिलिमिली बिजुली बत्ती बाल्दा पनि बत्ती नजाने घिसिङको भनाइ छ । उहाँले पहिलाजस्तो बिजुली बत्ती झ्याप्प–झ्याप्प जालाकि भनेर पीर, चिन्ता लिनु नपर्ने बताउनुभयो ।

प्राविधिक कारणबाहेक तिहारमा देशभर बिजुलीको समस्या नहुने घिसिङले बताउनुभयो । ‘तिहारमा बढी बिजुली खपत हुने भएकाले अभाव हुन नदिन पहिलेदेखि नै तयारीमा जुटेको छौं,’ उहाँले भन्नुभयो , ‘कमसल खालका टान्सफर्मर फेर्ने, प्रसारण लाइनलाई मजबुत बनाउनेलगायत काम गरेका छौं।’ तिहार आउनु एक–दुई दिनअघिमात्र काम गरेर हुँदैनथ्यो, त्यसैले पहिलादेखि नै तयारीमा जुटेको उहाँको भनाइ छ।

गत वर्षभन्दा यसपालिको तिहारमा ३०–४० मेगावाट बिजुलीको माग बढ्ने अनुमान गरिएको घिसिङले बताउनुभयो । ‘गत वर्षको तिहारमा १३ सय मेगावाट विद्युत् आवश्यक पर्ने अनुमान गरिएको थियो,’ उहाँले भन्नुभयो, ‘तर, ११ सय ५० मेगावाट बिजुलीले पुगेको थियो। अहिले बढीमा १४ सय मेगावाट पुग्ने अनुमान गरिएको पनिउहाँले जानकारी दिनुभयो । ’हामी अनुमान गरेभन्दा बढी बिजुलीको माग भए पनि धान्न सक्ने अवस्थामा छौं,’ उहाँको भनाइ छ ।

कुलेखानी आयोजनामा पानी जोहो गरेर राखेको जानकारी पनि उहाँले दिनुभयो । ‘कतै–कतै प्रविधिक समस्याले बत्ती जान सक्छ, बिजुली कम भएर लोडसेडिङ हुने स्थितिमा हामी छैनौं,’ उहाँले भन्नुभयो, ‘कम्फर्टेबल स्थितिमा छौं।’

अहिले स्वदेशी आयोजनाबाट करिब ९ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । स्वदेशी बिजुली नपुगेर भारतबाट समेत ३ सय ५० मेगावाट विद्युत ल्याइएको प्राधिकारणको भनाइ छ।

लोडसेडिङमुक्त तिहार मनाउन लागिएको योसमेत चार वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो।

Comments