काठमाडौं । गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारीका पीडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । यस कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पीडितहरुलाई सहयोग गरिँदै आएको छ । बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफलसमेत गरेको थियो । बैठकले यसअघि नै थालिएका कार्यक्रम र सुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ ।

यस्तै पूर्वाधार विकासका लागि १० अर्ब रुपैयाँको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्ने बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विद्युतीय पद्धतिबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहेका छन् । महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्ने जनाइएको छ । संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ । संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय पनि गरेको छ । आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ ।

संघमा अब ५ विभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मानव कल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवर्धन, निर्माण गर्ने र विभागमा आईसीसीका सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने व्यवस्था गरेको छ । एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन् २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघका संरक्षक परिषद् गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषद्मा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने छन् । बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (युके), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टीबी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्ककङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका) र हरिबोल भण्डारी (अमेरिका) रहने छन् ।

Comments