काठमाडौं । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा साबिक विजेता युभेन्टसले बोलोग्नालाई २–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालेम पियानिचले गोल गरे । बोलोग्नाका लागि लारान्गेइराले गोल गरेका हुन् ।

१९ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । उनले क्लब र राष्ट्रिय टिमबाट गरी कुल ७०१ गोल गरेका छन् । २६ औँ रालान्गेइराले बोलोग्नाका लागि बराबरी गोल फर्काए । ५४ औँ मिनेटमा पियानिचले गोल गरेपछि युभेन्टसले पुनः अग्रता लिएको हो ।

अन्तिम समयमा बोलोग्नाका फेडेरिको सान्तान्डेरले शक्तिशाली ओभरहेड किक प्रहार गरेका थिए । त्यसलाई युभेन्टसका ४१ वर्षे गोलरक्षक जियानलुइजी बुफोनले सुन्दर बचाउ गरे र युभेन्टसको जित निश्चित भयो ।

जितपछि शीर्ष स्थानको युभेन्टसको ८ खेलबाट २२ अंक भएको छ । अरु खेलमा नापोलीले हेलास वेरोनालाई २–० ले हरायो भने लाजिओ र एट्लान्टाले ३–३ को बराबरी खेलेका छन् ।

Comments