काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । गएरातिदेखि सुरु भएको मतगणनामा करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको बताइएको छ ।

बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो । मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्षमा कुमार पन्त अगाडि देखिएका छन् । उनले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पारेका छन् ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन गत असोज २८ देखि सुरु भएको थियो । ३० गतेसम्मका लागि महाधिवेशन तय गरिएको भए पनि विभिन्न विवादका कारण सम्मेलन लम्बिएको छ ।
सुरुमा विद्युतीय मेसिनबाट मतदान हुने भनिएपनि पछि विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो ।

निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा छन् । अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।

Comments