काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले व्यक्तिगत तथा सामूहिक लगानीमा समग्र नेपाल निर्माण गर्ने महाअभियान लगाउन सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नु भएको हो । गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज एवम् अनुकूल वातावरण बन्न गएको राष्ट्रपति भण्डारीको भनाइ छ । आज देखि काठमाण्डौमा सुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विदेशमा हासिल गरेका ज्ञान, अनुभव, सीप र उद्यमशीलतालाई व्यक्तिगत तथा सामूहिक लगानीमार्फत् नेपाल राष्ट्र निर्माण गर्ने महाअभियानमा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको हो ।

उहाँले गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराउनुभयो ।कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले गैर आवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने पनि जानकारी दिनुभयो ।

२५ सय भन्दा बढी प्रतिनिधिहरु सहभागी रहेको तीन दिने यो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

सम्मेलन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न हुनेछ एनआरएनको अध्यक्षमा उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्तले प्रतिस्पर्धा गर्दैछन्।

Comments