काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्षमा वर्तमान कार्य समितिका उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

गोरखाको फुजेलमा सामान्य परिवारमा सन् १९७६ मा जन्मिनुभएका कुमार पन्त हाल जर्मनीमा बसेर व्यवसायमा संलग्न हुनुहुन्छ । अवसरको खोजीमा उहाँ सन् १९९७ मा जर्मन जानुभएको थियो ।

सन् २००४ मा प्रवास र नेपाललाई जोड्न गैरआवासीय नेपाली संघ एनआरएनसँग समाहित हुनुभएका पन्त कुशल नेतृत्वको लागि परिचित हुनुुहन्छ ।

उहाँले सन् २००९ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदमा रहेर काम गरिसक्नुभएको छ भने सन् २०११ मा यूरोप क्षेत्रको क्षेत्रीय संयोजकमा चयन हुनुभएको थियो । सन् २०१३ मा एनआरएनएको महासचिव पदमा निर्वाचित कुमार हालको कार्य समितिमा उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । विभिन्न समयमा फरक फरक पदीय जिम्मेवारीमा रहेर काम गरिसक्नुभएकोले उहाँलाई अबको कार्यकालको अध्यक्षको बलियो दाबेरदारका रुपमा हेरिएको छ ।

पन्तले आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्न अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने, ब्रिटीस भूपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने एजेण्डाहरु अघि सार्नुभएको छ । पछिल्लो समय एनआरएनएमा राजनीति भएकोमा चिन्ता ब्यक्त गर्दै उहाले सबै तह र तप्काका व्यक्तित्व अटाउने खालको एनआरएनए बनाउने आफ्नो चाहना रहेको बताउनुहुन्छ । आफू निर्वाचित भए एनआरएनएलाई राजनीति मुक्त बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

Comments