काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्नुहुने भएको छ ।

सत्तारुढ नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको बालुवाटार स्रोतले बताएको छ । हटाउने मन्त्रीको सूचीमा अधिकांश पूर्व नेकपा माओवादीका मन्त्री छन् । यसबारेमा उहाँले अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी गराउनुभएको छ ।

सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले दाहाललाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जानकारी गराउनुभएको हो ।

नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।

सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर दाहाललाई सुनाउनुभएको थियो ।

दाहालले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाउनुभएको थियो । तर, दाहालले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाउनुभएको थियो ।

जवाफमा दाहालले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताउनुभएको थियो । दाहालले सचिवालयको बैठक बोलाउने प्रस्ताव गर्नुभएपछि प्रधानमन्त्री ओलीले तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाउनुभएको थियो । उहाँले मंगलबारका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।

Comments