काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमणले निजी क्षेत्र उत्साहित बनेको छ ।

राष्ट्रपति सीको भ्रमणले ऊर्जा, पूर्वाधार, कृषि, कनेक्टिभीटीलगायत नजिकिँदो नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन तथा चिनियाँ लगानी भित्र्याउन टेवा पुग्ने छ । दुई देशका कार्यकारी प्रमुखबीच भएका सम्झौताको सफल कार्यान्वयन भएमा नेपालमा परिवर्तन देख्न सकिने र निजी क्षेत्रको समृद्धिको लक्ष्यमा सहयोग पुग्ने भएको छ । दुबै पक्षबाट सम्झौताको सफल कार्यन्वयनमा जोड दिनुपर्नेमा निजी क्षेत्रको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रहेको भन्दै यसले दुई मुलुबबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ अवसरका ढोकाहरू खुल्ने बताइन् । “पूर्वाधार विकासबिना देशको समृद्धि सम्भव छैन, राष्ट्रपतिको भ्रमणमा कनेक्टिभिटी, ऊर्जा र कृषि क्षेत्रसँग सम्बन्धित सम्झौता भएका छन्,” उनले भनिन्, “चीनको लगानी सानोसानो रूपमा आइरहेकै छ अब भने नेपालको आवश्यकता ठूलो लगानी हो यो भ्रमणले लगानी ल्याउन सहयोग पु(याउनेछ ।”

नेपाल र चिनियाँ सरकारी कम्पनीबीचको सहकार्यमा आयोजना निर्माणको समझदारी भएको र यसबाट लगानीको थप वातावरण बनेको उनको भनाइ छ । ऊर्जा क्षेत्रका दुई आयोजनाको लागत २ खर्ब रुपैयाँभन्दा बढी रहने र उर्जा क्षेत्रमा भएका यी सम्झौताले नेपालको समृद्धिमा टेवा पु(याउने अध्यक्ष राणाले बनाइन् ।

नेपाल र चीनका दुई सहरबीच पनि भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको छ । काठमाडौं महानगर र नान्सी तथा बुटवल उपमहानगर र सियानबीच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी भएको हो । दुई सहरबीच भगिनी सम्बन्ध स्थापना हुनुले आपसी मित्रता र लगानीका लागि सकारात्मक प्रभाव पर्ने नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । “राष्ट्रपति सीले नेपाल भ्रमण गर्नु नै एउटा ठूलो उपलब्धी हो, नेपाल देश छ भनेर थाहा नपाउनेले पनि यतिबेला थाहा पाएका छन्,” अध्यक्ष श्रेष्ठ भन्छन्, “सुरुङ मार्ग, रेलवेले पर्यटक बढाउन सहयोग पुरयाउनेछ ।”

चीनको ठूलो लगानी भित्र्याउन पनि यो भ्रमण सार्थक हुने उनको भनाइ थियो । केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन चीन सक्रिय हुने राष्ट्रपति विद्यादेवी भन्डारीले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति सीले भनेका थिए । “बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं” राष्ट्रपति सीले भनेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सकिएपछि परराष्ट्र मन्त्रालयले आइतबार १६ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ । चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ९बीआरआई०को रणनीतिलाई नेपाल र चीन दुवै देशले साझा विकास र समृद्धिको आधारका रूपमा स्वीकारेको विज्ञप्तिमा उल्लेख छ । यससँगै नेपालमा लगानी बढाउने चीनको आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै जाने अपेक्षा गरिएको छ । चीनले नेपालको उद्योग, जलविद्युत्, होटेल, रेष्टुँरा लगायतका क्षेत्रमा लगानी गरेको छ ।

Comments