काठमाडौं । ओमान क्रिकेट संघले आयोजना गरेको पाँच देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाललाई हारको स्वाद चखाउन नेपाली मुलका खेलाडीको प्रदर्शन उत्कृष्ट रह्यो । जब ओमानले नेपाललाई हरायो, पेभेलियनमा बसिरहेका ओमानका खेलाडी र अफिसियल यी खेलाडीको नाम लिएर कराई रहेका थिए । ती नेपाली भाषी खेलाडी हुन सुरज कुमार ।

नेपालको बाग्लुङ पुर्खोली घर भएपनि उनका मातापिता कामको सिलसिलामा भारत बसाई सरेका थिए । उनको जन्म भारतमा नै भएको थियो । बाल्यकाल देखि नै क्रिकेटमा रुची राखेका सुरजले भारतमा विभिन्न स्थानीय प्रतियोगितामा सहभागिता जनाए । तर अहिले उनी ओमान क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका छन ।

विकेटकिपर ब्याट्सम्यान सुरजको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको थियो । उनका मातापिता भारतमा कामकालागि जाँदा उनी स्कुले जीवन देखि नै क्रिकेटमा निकै क्रेजी थिए । उनका पिता एउटा रेस्टुरेन्टमा काम गर्ने र परिवार पाल्ने गर्थे । आर्थिक रुपमा निकै कमजोर अवस्थामा रहेका सुरज सन् २०१५ मा ओमानमा सिफ्ट भए । भारतमा हुँदा आर्थिक अवस्था कसरी सुदृढ बनाउने भनेर सोच्ने सुरजलाई ओमानको एउटा निजी कम्पनीले जबका लागि अफर गर्यो ।

२०१५ मा उनी ओमान आएर उनले क्रिकेटलाई नै अगाडी बढाउने निर्णय गरे । जसमा उनले तीन बर्ष ओमानको घरेलु प्रतियोगिता खेले । ओमानमा कम्तिमा तीन बर्ष घरेलु प्रतियोगिता खेलेपछि राष्ट्रिय टिमका लागि योग्य मानिन्छन र ओमान क्रिकेट संघले उनीहरुलाई राष्ट्रिय टिमका लागि छनोटमा राख्न पाउछ । हाल ओमान टिममा रहेको अधिकांस सबै खेलाडी यसैगरी आएका छन ।

परिवारको आर्थिक अवस्थाका कारण पैशा कमाउन ओमान छिरेका उनले काम गर्ने कम्पिनीले क्रिकेट टिम खरिद गरेको थियो । क्रिकेट खेल्ने इच्छा निकै भएका सुरजले आफ्नो कम्पनीको टिमबाट खेल्न प्रयास गरे र सफल पनि भए । तीन बर्ष ओमान क्रिकेटका विभिन्न प्रतियोगिता खेलेपछि उनी यसै प्रतियोगितामा राष्ट्रिय टिमबाट टी २० मा डेब्यु गर्न सफल भए । एकदिवसिय मान्यता पाएको ओमानले नामिबीयामा भएको डिभिजन २ मा एकदिवसियमा डेब्यु गरेको थिए ।

टी २० मा नेपाल विरुद्ध मैदानमा उत्रदा उनको खेल संख्या मात्र चार थियो । तर २७ रनमा चार विकेट गइसकेको अवस्थामा क्रिजमा गएका सुरजले नेपाली बलरलाई विफल पार्दे ३० बलमा दुई चौका र तीन छक्का सथा ४२ रनको पारी खेले र ओमानलाई जित दिलाए ।

युएईमा हुने टी २० विश्वकप छनोट टिममा रहेका सुरज र नेपालको मात्र होइन, नेपाली क्रिकेट संघपनि नजिकको सम्बन्ध रहेको छ ।

हाल २९ बर्षमा हिडिरहेका सुरज नेपाली खेलाडीको प्रदर्शनमा खुसी पनि थिए । आफ्नै देश विरुद्ध खेल्दा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उनले भने, खेल हो, आफू नेपाली भएपनि ओमानबाट खेलिरहेको छु, मनमा मायाँ सधै छ, तर बर्तमान जे हो त्यसलाई हेर्नुपर्छ ।

Comments