महेन्द्रकुमार लम्साल

अष्ट्रेलियामा स्थापित सम्पूर्ण नेपाली सामुदायिक तथा सामाजिक संघ संस्थाहरुलार्ई एउटै छातामुनि गोलबद्ध गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरुको संघीय परिषद ‘फेन्का’ (Federation of Nepalese Community Association Australia – FeNCAA) ले औपचारिक रुपमा आफ्नो पहिलो वार्षिक अधिवेशन तथा उद्घाटन समारोह सम्पन्न गरेको छ । एनआरएनए अस्ट्रेलिया लामो समय देखि नै यास्तो खालको संघको आवस्वक्ता नरहेको, काम गर्नका लागि एनआरएनए प्लेटफर्म नै काफी रहेको बताउदै आएको थियो | गत १० सेप्टेम्बर २०१९ का दिन क्यानबेरामा आयोजित उक्त कार्यक्रममा अष्ट्रेलियन राजनीतिक तथा सरकारी प्रतिनिधिहरु, नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरु तथा आम नेपाली समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति उपस्थिति मा पहिलो पटक फेन्काको घोषणा गरिएको थियो ।

पृष्ठभूमि

अष्ट्रेलियामा नेपाली समुदायको प्रतिनिधित्व गर्ने व्यापक सहभागिता सहितको एउटा सशक्त अंगको आवश्यक्ता आजभन्दा करिब २५ वर्ष अगाडि नै आएको थियो ।  फेन्काका वर्तमान महासचिब डा. कृष्ण हमालका अनुसार यो अवधारणा १९९५ मै आफू, इन्द्रा वन र बल्लभ आचार्यले अगाडि बढाएको संस्था हो । तर नेपालीहरुको त्यति ठूलो उपस्थिति नभैसकेको अवस्थामा यो अभियानले सोचे जस्तो  गति लिन सकेन । समयान्तरमा यो अवधारणा नेप्लिज अष्ट्रेलियन फ्रेण्डशिप सोसाइटीको रुपमा मात्र सिमित रहन पुग्यो ।

नेपालमा आएको खुलापन संगै प्रवासमा नेपालीहरुको संख्या बढ्ने क्रम चल्दै गयो । जसको फलस्वरुप सन् २००३ तिर संसारमा रहेका नेपालीहरु लाई एउटै  साझा अभियानमा जोड्ने अभियानको रुपमा एनआरएनएको अवधारणा  आयो । २००३ मा बेलायतमा औपचारिक रुपमा स्थापना भएको एनआरएनए अभियान २००५ मा अष्ट्रेलियामा पनि स्थापना भयो । फेन्काकै उद्देश्यसंग मिल्ने गरि  स्थापित अभियान भएको हुनाले समुदायमा सबैको ध्यान एनआरएनए तिरै गयो| र फेन्का अभियान ओझेलमा परेको स्मरण गराउँछन फेन्काका बर्तमान महासचिव डा. कृष्ण हमाल ।

एनआरएनए अस्ट्रेलियाले आफ्नो स्थापन देखिनि आफुलाई सम्पूर्ण नेपालीहरुको साझा अभियान भन्दै आएको छ | त्यसै अनुरुप विभिन्न समयमा समुदायलाइ एनआरएनएमा साझेदारी गर्ने प्रयास गरेको देखिन्छ | २०१३ मा पूर्व एनआरएनए अध्यक्ष  महेन्द्र ओलीको कार्यकालमा  बिधान परिवर्तन गरि एन आर एन ए जस्तो साझा अभियानमा सबै  सिबिओ ( Community Based Organisation हरुलाई सहभागी गराउने प्राबधान राखियो  ।  सीबीओका संयोजकको जिम्मेवारी पनि डा. हमाललाई नै  दिइएको थियो ।

एनआरएनएमा रहेर काम गर्दाको अनुभव बताउदै डाक्टर हमाल बताउछन, “हामीले पनि एनआरएनए मार्फत नै समुदायलाई गोलबद्ध गर्न सकेजति प्रयास गरियो” । फेन्काका प्रायः सबै परिकल्पनाकारहरु कुनै न कुनै समय एनआरएनएको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदमा काम गर्ने अवसर मिलेकै हो र नेपाली समुदायलाइ एउटै साझा चौतारीमा ल्याउनकालागि थुप्रै प्रयास पनि गरेको हो तर सोचे जस्तो उपलब्धि हासिल गर्न सकिएन  ।

एनआरएनएको “सिबिओ” कन्सेप्ट, समुदायका केहि टाठाबाठाहरु र बिशेष गरि नेपाली राजनीतिका विदेश स्थित भात्रीसंस्थाहरुले चिरहरण गरि निकम्मा बनाइदिएका हुन् भन्नुमा कुनै संकोच रहदैन|  बिधानले व्यवस्था गरेको नयाँ प्राबधान, भावना र मर्म अनुसार सामुदायिक संघ संस्थाहरु एनआरएनएमा सहभागी भएर काम गर्ने चासो खासै देखाएको अनुभव हुन सकेन  ।  बिशेष गरि केहि  राजनैतिक दलका भातृ संस्थाहरुमात्र सामुदायिक संघ संस्थाको रुपमा संस्थागत सदस्यता लिन थाले | जसले गर्दा एक तिर एनआरएनए थप  राजनीतिक दाउपेचको रणभूमि बन्दै जान थाल्यो भने अर्कातिर एनआरएनए मार्फत समग्र समुदायको प्रतिनिधित्व गर्ने कुरामा फेन्का अभियान्ताहरु कन्भिन्स हुन सकेनन् ।  नीति राम्रो भए पनि व्यबहारिक दृष्टिकोणले समग्र सामुदायिक संस्थाहरुलाई  एनआरएनएले बिश्वासमा लिन सकेन  ।

यसरी एनआरएनएलाई सबै समुदायको साझा अपनत्व प्रदान गरि अगाडि बढ्ने प्रयास प्रभाबकारी हुन सकेन  । तर पनि एनआरएनएले समुदायलाई एनआरएनएको साझा संजालमा जोड्ने प्रयासभने  छाडेन  । तत्कालिन ओसेनिया क्षेत्रीय संयोजक बिष्णु हमालको संयोजकत्वमा २०१४ मा फेरी  एक बृहत सामुदायिक अन्तरक्रिया गरि फेन्का स्थापनाको आवस्यकता र यसको स्वरूपका बारेमा १ वर्ष भित्र प्रतिबेदन पेश गर्न  ५ सदस्सीय कार्यदल निर्माण गर्यो  । कार्यदलमा डाक्टर राजु अधिकारी, बम योन्जन, कृष्ण हमाल, इन्द्रा वन र राजन कोइराला थिए  ।

प्राप्त जिम्मेवारीका आधारमा कार्यदलले सकेसम्म धेरै सामुदायिक संस्थाहरु छलफलको क्रम अगाडि बढायो  । करिब ३ वर्षको अवधिमा कार्यदलले २२ पटक भन्दा बढी समुदायका सरोकारवालाहरुसंग छलफल चलायो  । समुदायबाट प्राप्त जनमतका आधारमा जुन २०१७ मेलबर्न कन्भेन्सनमा कार्यदलले आफ्नो अवधारणा पेश गर्यो । तत्कालिन अध्यक्ष सुरेन्द्र सिग्देल सहित थुप्रै एनआरएनए पदाधिकारीहरु फेन्काको उद्देश्य एनआरएनए कै मातहतमा रहेर पनि गर्न सकिने र छुट्टै संस्था स्थापानाको औचित्य नभएको जिकिर गरे  । तर फेन्का कार्यदल त्यो पक्षमा थिएन र उनीहरुले बृहत नेपाली समुदायलाई समेटी एउटा सशक्त र एकिकृत आवाजका लागि नेपाली समुदायको संघीय संरचना आवश्यक रहेकाले ढिलो चाँडो फेन्का स्थापना गर्नु पर्ने कुरा जोड दिई नै रहे र काम पनि गर्दै गए  । एनआरएनएको प्रतिरोधलाई मत्थर पार्न त्यहि भेलाले फेरी पनि  एनआरएनए संगसंगै जाने वा नजाने भनि समुदायको  सुझाव सहित पेश गर्न  फेरी कार्यदल मै पठाउने निर्णय गर्यो ।

फेन्का  कार्यदलका सदस्यहरु सुरु देखिनै एनआरएनए र प्रस्तावित फेन्काको आ–आफ्नै बिशिष्ट  कार्यक्षेत्र र प्राथमिकता भएकोले यसलाई एउटाको अन्डरमा अर्को हुनु पर्छ भन्ने छैन  भन्ने बिचारमा अडिग नै थिए  । त्यसै अनुसार समुदायमा निरन्तर छलफल गर्दै जाँदा फेन्का र एनआरएनएमा कार्यक्षेत्र फोकस एरियालार्ई छुट्टयाई काम गर्दै जाने निर्णय भयो । फलत २ अगष्ट २०१८ मा औपचारिक रुपमा अष्ट्रेलियाको राजधानीमा एसोसियशन आक्ट १९९१ अन्तर्गत फेन्का  गैर नाफामूलक सामुदायिक संस्थाको रुपमा दर्ता भयो ।

कहाँ चुक्यो एनआरएनए ?

“नेपालीका लागि नेपाली” नाराका साथ सुरु गरिएको एनआरएनए अभियान प्रवासमा हुने सबै क्रियाकलापमा आफ्नो साझेदारी गर्न चाहन्छ  । नेपाली समुदाय पनि एनआरएनएप्रति धेरै भरोशा राख्दछ भन्नुमा शंका छैन  । तर पछिल्ला दिनहरु मा यो अभियान  नेपाली राजनीतिक रस्साकस्सीमा अल्मलिन थालेको छ  । एनआरएनएमा पद पाउने कुरा विदेशमा बसेका केहि झुण्ड नेपालीहरुले नेपालको राजनीति संग जोड्नु र प्रतिष्ठाको बिषय बनाउनु नै एनआरएनए अभियानलाई समग्र प्रवासी नेपालीबाट अलग राखी एउटा सागुरो कुनामा पुर्याउने प्रमुख कारण हो  ।  यस्ता झुण्डहरु ले  एनआरएनएलाई  विदेशमा नेपालीको  सत्ता संग जोडेर हेर्नु अर्को दुखद तथ्य हो  ।

एउटा चेतनशील नेपालीले भू–मध्य रेखामा उभिएर एकछिन सोच्यो भने आज संसारमा नेपालीको संख्या बढ्नु सुखद हो कि दुखद ? यसरि दिन प्रतिदिन नेपालीहरु पलाएन हुनुको कारण के होला ? दुई महाशक्तिहरु बीच अवस्थित अपार श्रोत, साधन र सम्भाव्यता बोकेको  सुन्दर नेपाल यती धेरै गरिबीको चपेटामा किन छ ? प्रष्टै छ राजनीतिमा भिजन नभएका, भ्रष्ट,  स्वार्थी र अदूरदर्शी मानिसहरु हावी हुनु  ।

नेपाल आज यति पछाडी पर्नु र दिन प्रतिदिन सक्षम र दक्ष जनशक्ति बाहिरिने क्रमको प्रमुख कारण बुझ्दा बुझ्दै पनि  एनआरएनए अभियान हाक्ने मानिसहरु त्यहि राजनीति गर्ने मानिसको चाकडी र स्वार्थमा केन्द्रित हुँदै एनआरएनए अभियान सिमित र संकुचित राजनीतिक घेरामा बिटुलिन पुगेको तितो सत्य हो | जसले गर्दा  प्रवासमा बसेका नेपालीहरु ले बृहत सामुदायिक एकता र सशक्त आवाजका लागि अर्को विकल्प खोज्न बाध्य भएका हुन्  । त्यसै को परिणाम हो फेन्का  ।

“एनआरएनएको ग्लोबल संरचना छ र यसको प्राथामिकता अलिफरक भएकोले हामीले यो अभियानलाई अगाडि बढाएका हौं” फेन्काका संस्थापक अध्यक्ष डा. राजु अधिकारी बताउँछन्  । एनआरएनएमा कुनै पनि काम गर्दा आइसीसीको अनुमति लिनुपर्छ । यो सदस्यता बेस संस्था हो  । प्रवासमा रहेका नेपालीहरुको हक हितका लागि, दोहोरो नागरिकता, नेपालमा लगानी तथा पर्यटन प्रबर्धन एनआरएनएका प्रमुख उद्देश्यहरु हुन्  ।  अर्कोतिर फेन्का बिशेष गरि अष्ट्रेलियामा रहेका नेपालीहरुको हक हित र उनीहरु संग सम्बन्धित नीति नियमहरुमा अष्ट्रेलिया सरकारसंग मिलेर काम गर्नेछ  । फेन्का, अष्ट्रेलिया सरकार र यहाँका नेपाली समुदायबीच पोइन्ट अफ कन्ट्याक्टको रुपमा काम गर्नेछ  । सामुदायिक हित, अष्ट्रेलिया र नेपालबीच कूटनैतिक सम्बन्ध नेपाल प्रबर्धन, प्रवासमा सिकेको ज्ञान,  शीप स्थानान्तरण  तथा आर्थिक लगानीका सवालमा फेन्का जहिले पनि एनआरएनएसंग मिलेर जानुको बिकल्प नभएको डा. अधिकारी ले द नेपाली टाइम्स संगको कुराकानीमा बताए  ।

कस्तो छ फेन्का संरचना ?

दर्ताका क्रममा पूर्व निर्धारित कार्यदलका ५ जना सहित प्रत्येक स्टेटबाट २÷२ जना पर्ने  गरी कुल १६ जनाको कार्यसमिति पहिलो वार्षिक साधारण सभा तथा उद्घाटन सभामा घोषणा गरिएको छ  । फेन्का कार्यसमितिको संस्थापक  अध्यक्षमा डा. राजु अधिकारी, उपध्यक्षमा इन्द्रा बन, महासचिबमा डा. कृष्ण हमाल कोषाध्यक्षमा रञ्जन कोइराला छन् भने प्रबक्तामा बम योन्जन रहेका छन्  । पदाधिकारी सहित १६ जनाको कार्यसमितिका अतिरिक्त १९ जनाको सल्लाहकार मण्डल पनि घोषणा गरिएको छ  ।

फेन्काले आगामी दिनमा व्यापक सामुदायिक छलफलका लागि अष्ट्रेलिया भरि कार्यक्रम राखेको छ । छलफल र प्राप्त सुझावका आधारमा प्रत्येक वर्षमा वार्षिक भेलाको आयोजना गर्दै अष्ट्रेलियामा रहेका सबै सामुदायिक संघ संस्थाहरुलाई फेन्कामा समाहित गर्दै लैजाने योजना रहेको जानकारी प्रबक्ता तथा महासचिब डा. कृष्ण हमाल ले जानकारी दिए  ।

अन्त्यमा

अष्ट्रेलियास्थित सबै राज्यहरुमा रहेका नेपाली समुदायका संघ संस्थाहरुको पनि महासंघको अवधराणा अनुरुप स्थापित “फेन्का” द्रूत गतिमा बढ्दै गएको नेपाली समुदायको हक र हितमा  अभिभावकीय नेतृत्व प्रदान गर्ने एउटा साझा अंग बन्न सक्छ  । एनआरएनए,  नेपाली कुटनैतिक नियोग तथा दुवै सरकार संग मिलेर फेन्काले नेपाल अष्ट्रेलियाबीचको लामो कुटनैतिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सकृयतासाथ आफ्नो भूमिका निभाओस्  ।  अष्ट्रेलियन अर्थतन्त्र, व्यापार व्यवसाय र बहुसांस्कृतिक सामाजिक संरचनामा नेपाली समुदायको उल्लेख्य योगदान रहेको तथ्य अष्ट्रेलियन राजनीतिक तथा व्यवसायिक तहले महशूस गरिसकेको छ  । यस्तो अवस्थामा फेन्काले नेपाली समुदायका लागि अत्याबश्यक देखिएको सामुदायिक केन्द्र, नेपाली सामाजिक, सांस्कृतिक पहिचान झल्किने पूर्वाधारहरु निर्माणका लागि सरकारसंग माग गर्दै जानु पर्नेछ  । अष्ट्रेलियन अर्थतन्त्रको तेश्रो हिस्सा ओगेटेको अन्तर्राष्ट्रिय विद्यार्थीका सवालमा पनि नेपाली विद्यार्थीहरुको अमुल्य योगदान रहेको परिप्रेक्षमा  विद्यार्थी कल्याणकारी कोष र अनुदानका लागि  नेपाली समुदायको सामुहिक र संकलित आवजको प्रतिनिधित्व गर्दै  अष्ट्रेलिया सरकारसंग बिशेष पहल गर्नु पर्ने देखिन्छ  ।  समग्र समुदायलाई बिश्वासमा लिएर अगाडि बढ्नका लागि फेन्कालाई हाम्रो शुभकामना !

नेपाली टाइम्समा प्रकाशित यो आलेख सान्दर्भिक लागेर साभार गरेका छौं । 

Please follow and like us:

Comments