यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङघार, कौसी, र भ¥याङग लगायतका स्थानमा सरसफाइ गरी दीपावली समेत गर्ने गरिन्छ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ ।  लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्जवलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । त्यसैगरी आज साँझ युवतीहरुले समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

Comments

comments