काठमाडौं । दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ ।

दसैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।

दसैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए ।

दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् । आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताए ।

रातभर लाम, तर पाइएन टिकट

दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्।

बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन।

गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत टिकट काउन्टरमा मध्यरातदेखि लाइन बसेका यात्रुले साँझ ६ बजेसम्म पनि टिकट पाएनन्। टिकट बिहान ६ बजेदेखि वितरण सुरु गरिएको थियो।

टिकट लिन महिला, पुरुष, ज्येष्ठ नागरिक, शारीरिक अशक्तता भएकाको छुट्टाछुट्टै लाइन नराख्दा समस्या आएको हो। सवारी साधनको स्तरअनुसार डिलक्स, सुपर डिलक्स, साधारण वर्गीकरण नगरिँदा पनि यात्रु अलमलमा परेका हुन्। दसैं मनाउन उपत्यकाबाट करिब ३० लाख यात्रु गाउँ फर्कने अनुमान छ।

Comments

comments