काठमाडौं । लामो प्रतिक्षापछि अन्ततः चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने मिति तय भएको छ ।

तय भएको भ्रमण तालीकामा कुनै अप्रत्यासित फेरबदल नभए राष्ट्रपति सी २७ असोजमा काठमाडौं आउनेछन् ।

उक्त भ्रमणमा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको औपचारिक प्रक्रिया शुरु हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुन लागेको हो । राष्ट्रपति सी भारत हुँदै नेपाल आउने छन् । २३ वर्ष यता नेपाल भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुनेछन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा छुट्टाछुट्टै सातवटा विषयमा सम्झौता हुने उच्च स्रोतले जानकारी दिएको छ । भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारे दुई देशबीच सम्झौता हुने भएको छ । त्यस्तै केरुङ–काठमाडौं सुरूङमार्ग सहितको सडक निर्माणबारे पनि सम्झौता हुनेछ ।

‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरूङ–काठमाडौं जोड्ने झोरेदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने सुरूङमार्ग सहितको सडक बनाउने सहमति हुने’ उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममा नै बताइसकेका छन् ।

मन्त्री पोखरेलले २८ भदौमा टोखा नगरपालिका–१ झोरमा बाल उद्यानको उद्घाटनमा उक्त कुरा बताएका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासनिकट स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति सी दुई दिनका लागि नेपाल आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने बताए पनि भ्रमण मिति भने सार्वजनिक गरिसकेको छैन।

दुई पक्षीय समझदारीमा दुवै देशले एकैपटक भ्रमण मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण एक पक्षीय रुपमा भ्रमण मिति सार्वजनिक गर्न नमिल्ने परराष्ट्रका एक उच्च अधिकारीले बताए।

Comments

comments