काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य टेलिश्रृंखला भद्रगोलबाट छुटिएपछि त्यही टिमको संलग्नतामा नयाँ हाँस्य टेलिश्रृंखला सक्किगोनि
प्रसारणमा आएको छ ।

भद्रगोलमा कुमार कट्टेल अर्थात जिग्रीले बोल्ने थेगोलाई शीर्षक बनाएर निर्माण भएको टेलिश्रृंखला सक्किगोनिको हिजो विहीवारबाट प्रसारण आरम्भ भएको हो । पहिलो भागमै टेलिश्रृंखलाका सबै पात्रहरुको चरित्र स्थापित गरिएको छ । टेलिश्रृंखलामा भद्रगोलकै अधिकांश कलाकार र पात्र छन् । जिग्री,बले,कक्रोज,पाँडे,खोपीका बाउ,रक्षा,मुन्नी,सीते बा र धतुरे लगायतका पात्रहरु सक्किगोनिमा जुटेका छन् । त्यसैले पनि यस टेलिश्रृंखलाबाट दर्शकहरुको अलि बढी नै अपेक्षा थियो । तर विहीवार प्रसारण भएको पहिलो भागबाट भने दर्शक निराश भएका छन् ।

पहिलो भागमा सबै कलाकारहरुको चरित्र स्थापित गर्ने नाममा दर्शकलाई निराश पारिएको छ । डेंगु संक्रमणलाई थिम बनाएर सामायिक बनाउन खोजिए पनि फितलो प्रस्तुतिका कारण टेलिश्रृंखला नै निरश बनेको छ । त्यसमाथि कमजोर ध्वनी व्यवस्थापनका कारण टेलिश्रृंखला फितलो बनेको छ ।

टेलिश्रृंखलालाई कुमार कट्टेल र अर्जुन घिमिरेले संयुक्त निर्देशन गरेका छन् ।

Comments

comments