काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने बताएको छ । विहीवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगले विदेशमा रहेका नेपालीहरुलाई अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको छ ।

आयोगले बुथ राखेर विदेशमा रहेका नेपालीले मतदान गर्ने व्यवस्थाको प्रयोजन हुने अवस्था नरहेकाले सरकारले अन्य विकल्पको प्रयोगका लागि नयाँ कानुन बनाउनुपर्नेमा जोड दिएको हो । निर्वाचन आयोगले आगामी मंसिरमा हुने उपनिर्वाचन तयारीको कामलाई तीब्रता दिएको छ । २१ वटा राजनीतिक दलहरुले उपनिर्वाचनमा भाग लिनका लागि निवेदन दिएका छन् । आयोगले मतदाता नामावली अध्यावधिकको काम एक हप्ताभित्र सकेर मतदाता परिचय पत्र वितरणको कामलाई सुरु गर्ने तयारी गरेको छ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेशसभा अन्तर्गत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

Comments

comments