काठमाडौं । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

आज संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताउनुभयो । उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गर्नुभयो । डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताउनुभयो ।

साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले बताउनुभयो । केही हप्ता यता नेपालमा डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रण उन्मुख हुँदै गएको उहाँले बताउनुभयो । काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरिएको उपप्रधानमन्त्री यादवले जानकारी दिनुभयो ।

सांसदहरुले भने डेँगु नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

उनीहरुले जनता डेँगुको मारमा परिरहँदा स्वास्थ्य मन्त्री यादव भने विदेश शयरमा मग्न रहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले मन्त्री यादवलाई जनता डेँगुको मारमा परिरहँदा मन्त्रीचाहिँ विदेशमात्र घुमिरहने भन्दै प्रश्न गर्नुभयो । कांग्रेसका अर्का सांसद देवप्रसाद तिमल्सिनाले डेँगु संक्रमितहरुले टेकुस्थित सरुवा रोग उपचार हुने केन्द्रमा राम्ररी उपचार नपाएको गुनासो आइरहँदा सरकार उदासीन रहेको भन्दै आलोचना गर्नुभयो । सत्तारुढ दलका सांसदहरु विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ र नविना लामाले पनि मन्त्री यादवको विरोध गर्नुभयो ।

नेकपाका सांसद जीवनराम श्रेष्ठले डेँगु नियन्त्रणमा मन्त्रीको भूमिकाको आलोचना गर्नुभयो । उहाँले काठमाडौंको जनघनत्वमा फैलँदा विकराल हुनसक्ने भन्दै उपत्यकाभित्र विशेष अभियान चलाउन माग गर्नुभयो । सांसद नविना लामाले जनता पीडित भइरहेका बेला स्वास्थ्य मन्त्रालयले शून्य काम गरेको टिप्पणी गर्दै स्वास्थ्यजस्तो संवेदनशिल विषयमा मन्त्रालय जिम्मेवार नबनेको आरोप लगाउनुभयो ।

Comments