काठमाडौं । बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति धर्मदेवीनगरपालिका–८ स्थित अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

धर्मदेवी–८ अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो जीप राति साढे १० बजे अरुण नदीमा खस्दा चालक सहित ६ जना बेपत्ता भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी मिम लामाले जानकारी दिनुभयो ।

गाडी चालक सन्तोष विकसहित अन्य ६ जना रहेको प्रहरीले जनाएको छ । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खसेको प्रहरीले जनाएको छ ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।

सो जीप अरुण नदीमा खसेपछि खाँदबारीबाट तत्कालै प्रहरीको टोली परिचालित भएपनि निरन्तर बर्षा भइरहेका कारण अरुणमा जीप डुबेकाले उद्धारमा समस्या भएको डिएसपी मिम लामाले जानकारी दिनुभयो ।

अहिलेसम्म चालकको मात्रै नाम खुलेको छ । अन्य यात्रुको पहिचान हुन नसकेको डिएसपी लामाले जानकारी दिनुभयो ।

Comments

comments