काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ । निर्मला हत्या प्रकरणमा मुछिएका दीलिपपसिंह विष्टका दाजु खडक विष्टले यसअघि जिल्ला अदालत कन्चनपुरमा दायर गरेको मुद्दा खारेज भएपछि उनी उच्च अदालत पुगेका हुन् ।

विष्टले जिल्ला अदालतको फैसला बदर गरी लामिछाने र जिसीलाई अदालतको अवहेलना अभियोगमा सजाय गर्न माग गर्दै सोमबार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पुनरावेदन दर्ता गराएका हुन् ।

‘अदालतमा विचारधीन मुद्दामा रवि लामिछाने र अंगुर जिसीले सार्वजनिक बहस गरी यो मुद्दालाई अन्तै मोड्न खोजेका छन्,’ पुनरावेदनमा भनिएको छ, ‘यसरी अदालतमा चलिरहेको मुद्दालाई अन्तै मोड्न खोज्नु अदालतको अवहेलना हो । उनीहरुलाई हदैसम्मको कारबाही गरियोस् ।’

१६ भदौमा खड्क विष्टले दिएको मुद्दा जिल्ला अदालतले खारेज गरिदिएको थियो । जिल्ला आदलतको सोही फैसला बदर गरी रवि लामिछाने र अंगुर जिसीलाई कारबाहीको माग गर्दै विष्टले उच्च अदालतमा पुनरावेदन हालेका हुन् ।

१९ साउन राति लामिछानेले ‘सिधा कुरा जनतासँग’मा निर्मला हत्या प्रकरणबारे लामो बहस गरेका थिए जहाँ कञ्चनपुरका पत्रकार खेम भण्डारी र निर्मला बलात्कार तथा हत्या प्रकरण छानबिनमा दोषी मानिएर निलम्बनमा परेका डिएसपी अंगुर जिसी थिए ।

रविले कार्यक्रममा खेम भण्डारीलाई झुक्याएर अंगुर जिसीलाई बोलाएका थिए । कार्यक्रममा केही तथ्य अगाडि राखेर निर्मलाका दोषी ‘दीलिपसिंह विष्ट’ नै हुन् भन्ने मतमा रविले जोड गरेका थिए ।

Comments

comments