काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुकका सबै विमानस्थल सफा राख्न र उडानपूर्व जहाजभित्र औषधी छर्किने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

आज मन्त्रालयमा डेंगुबाट पर्यटन क्षेत्रमा पर्ने प्रभाव र यसको निराकरण विषय छलफलमा बोल्दै मन्त्री भट्टराइले मापदण्ड अनुसार जहाजमा औषधी छर्किन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराइले भ्रमण वर्ष २०२० र नेपालको पर्यटन क्षेत्रमा यस रोगको कारणबाट पर्न सक्ने असर र निराकरणका लागि आवश्यक तयारी तथा पूर्व सतर्कता अपनाउन सबै सरोकारवालाहरुलाई सचेत गराउनुभयो । नेपाल होटल संघ, रेष्टुरेण्ट व्यावसायी संघ, पर्यटक यातायात लगायत पर्यटकीय सेवा दिने विभिन्न निकायहरुले आफ्नो क्षेत्र सफा राख्ने, पर्यटकलाई सूसुचित गर्ने तथा औषधीको समेत मापदण्ड अनुरुप व्यवस्था गर्न गराउन समेत उहाँले निर्देशन दिनुभयो । उहाँले पर्यटकहरुको बढी उपस्थिति रहने पशुपति क्षेत्र, लुम्बिनी क्षेत्र, जनकपुर क्षेत्र, पोखरा एवम् सौराहा लगायतका पर्यटकीय क्षेत्रहरुमा सरसफाई अभियान चलाउन समेत निर्देशन दिनुभएको छ ।

सरकारले अगामी वर्ष भ्रमण वर्ष २०२० को भव्य तयारी गरिरहँदा अमेरिका लगायतका केही देशहरुले नेपालमा डेंगुको संक्रमण बढेको भन्दै आफ्ना देशका नागरिकहरुलाई नेपाल जाँदा सावधानी अपनाउन सचेत गराएका छन् ।

Comments

comments