काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अराजकताको आतंक मच्याएर जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको पाँचौ स्मृति दिवसमा बोल्दै अध्यक्ष दाहालले समाजवादलाई निमोठ्न खोज्नेका विरुद्ध सतर्क र सचेत भएर प्रतिवाद गर्न निर्देशन दिनुभएको हो । पार्टी कार्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले हजारौँ नेपालीको बलीदानीबाट प्राप्त उपलब्धी मास्न चौतर्फी घेराबन्दीको प्रयास भइरहेको दाबी समेत गर्नुभयो । प्राप्त उपलब्धि र परिवर्तनको रक्षा गर्ने संकल्प अहिलेको आवश्यकता रहेकोमा अध्यक्ष दाहालले जोड दिनुभयो । विकास र समृद्धिको बाटोबाट समाजवादको दिशा तय गरिएको बताउँदै पुँजीवाद र साम्राज्यवादबाट घेरिएकाले केही चुनौती रहेकोमा अध्यक्ष दाहालले ध्यानाकर्षण गराउनुभयो ।अध्यक्ष दाहालले चारैतिरबाट पुँजीवाद, साम्राज्यवाद र विचलनको अवस्थाबाट घेरिएको भन्दै पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र अनुशासन आवश्यक रहेकोमा जोड दिनुभयो ।

स्मृति कार्यक्रममा अध्यक्ष दाहाल लगायत विभिन्न शीर्ष नेताहरुले पोष्टबहादुर बोगटीको व्यक्तित्वको चर्चा गर्दै बोगटी निर्भिक, उद्देश्यप्रति अविचलित र कामप्रति दत्तचित्त रहने नेता भएको स्मरण गरेका थिए ।

Comments

comments