मेलबर्न । ब्रिसबेनमा अष्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता हुने भएको छ ।

नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डको आयोजना तथा गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको संयोजनमा यहि आउदो सेप्टेम्बेर २८ र २९ तारिखका दिन अष्ट्रेलियाव्यापी नेपाली नृत्य प्रतियोगिता हुन लागेको हो ।

ूहाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्धन, सम्बर्धन अनि सम्मानू को नारा सहित हुन लागेको नृत्य प्रतियोगितामा न्युजिल्याण्ड सहित अष्ट्रेलियाको तास्मेनिया बाहेक अन्य राज्यबाट सहभागीता रहने आयोजकले जनाएको छ । यस प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, भाषा, साहित्य, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुने छन् ।

प्रतियोगितामा एकल, युगल र समूह गरि ३ विधामा नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूहहरु अन्तिम प्रतिस्पर्धाकालासग छनौट भएका छन् । आ आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफूले प्रस्तुत गर्ने नृत्य र त्यससँग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा समेत बढीमा २ मिनेटको जानकारी प्रदान गर्नुपर्ने व्यवस्था छ । प्रतियोगिता पहिलो र दोश्रो गरि दुइ चरणको हुने छ । उत्कृष्टताको आधारमा प्रत्येक समूहबाट पांच वटा नृत्य दोश्रो चरण अर्थात फाइनल राउन्डमा जाने छ । एकल नृत्यमा प्रथम ८००, दोस्रो ५०० तथा तेस्रो ३००, युगल नृत्यमा प्रथम १२००, दोस्रो ७०० तथा तेस्रो हुनेले ४०० डलर पुरस्कार पाउनेछ । समूह नृत्यमा प्रथम १६००, दोस्रो ९०० तथा तेस्रो हुनेलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था रहेको छ ।

प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य निर्णायकका रुपमा रहने आयोजक कमिटिका संयोजक डा केशब शर्माले जानकारी दिनुभयो । सन् २००९ देखि ब्रिसबेनमा सुरु भएको उक्त प्रतियोगिताको यो पाँचौ श्रृंखला हो । उक्त प्रतियोगिता नेपलिज एसोसिएसन अफ कुइन्सलाण्डले प्रत्येक दुइ बर्षमा आयोजना गर्दै आएको छ।

प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक शर्माले जानकारी गराउनुभयो ।

Comments

comments