एजेन्सी । विश्व विजेता फ्रान्सले युरोकप २०२० को छनौटमा प्रभावशाली नतिजाको क्रम जारी राखेको छ । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले एण्डोरालाई ३–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गरेको हो । १८ औँ मिनेटमा किङ्ग्स्ली कोम्यानले गोल गरेका हुन् ।

५२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट र इन्जुरी समयको पहिलो मिनेटमा विसाम बेन यड्डरले गोल गर्दै फ्रान्सलाई ३–० को जित दिलाएका हुन् ।

एन्टोनी ग्रिजम्यानले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । पेनाल्टी प्रहारमा उनी चुकेका हुन् । गएको शनिबार भएको अल्बानियासँगको खेलमा पनि उनले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् ।

एण्डोराले अहिलेसम्म एक खेल पनि जितेको छैन । समूह एच अन्तर्गतकै खेलमा टर्कीले माल्डोभालाई ४–० ले पराजित गरेको छ । जितपछि ६ खेलबाट १५ अंकसहित टर्की समूहको शीर्ष स्थानमा पुगेको छ । १५ अंक नै रहेको फ्रान्स दोस्रो स्थानमा छ ।

Comments