काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलवार उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्नुभयो ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गर्नुभयो ।

उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो ।

पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६।२ र भारततर्फ ३३ किलोमिटर छ ।

पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ ।

पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । मंगलवार मध्याह्नदेखि नै निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ ।

Comments