काठमाडौं । नेपाल र चीनबीच तीन नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमवार काठमाडौंमा सम्पन्न परराष्ट्रमन्त्रीस्तरीय बैठकमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । मनाङमा अस्पताल निर्माण, गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने र नेपालमा चिनियाँ भाषा सिकाउन चीनबाट स्वयमसेवी शिक्षक ल्याउनेसम्बन्धी नयाँ समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रअनुसार चीनले मनाङमा अस्पताल निर्माण गर्न नेपाललाई २ करोड २० लाख चिनियाँ युआन अर्थात ३५ करोड ५७ लाख ४० हजार रुपैयाँ दिनेछ । यस्तै प्राकृतिक प्रकोपका बेला तत्काल पीडितलाई राहतस्वरुप उपलब्ध गराउने उद्देश्यले गृह मन्त्रालयलाई ५ हजार थान टेन्ट चीनले उपलब्ध गराउने जनाएको छ । बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा दुई देशका अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको थियो ।

वाङ यीविरुद्ध प्रदर्शन गर्ने नौ महिला पक्राउ

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध प्रदर्शन गर्ने नौ जना महिलालाई प्रहरीले पक्राउ परेका छन् ।

सोमवार दिउँसो काठमाडौंस्थित चिनियाँ दूतावास नजिकै भाटभटेनीमा प्रदर्शन भएको हो। प्रकाउ परेका महिलालाई महेन्द्र पुलिस क्लवमा राखीएको छ । नेपाली चेलीबेटी चीनमा बेचबिखन भइरहेको भन्दै महिलाहरुको एक समूहले ‘चेलिबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका प्लेकार्डसहित विरोध–प्रदर्शन गरेका थिए । चीनका विदेशमन्त्री वाङ यीको भ्रमणको सन्दर्भ पारेर महिलाहरू प्रदर्शनमा उत्रेका हुन् ।

Comments

comments